• १२ साउन २०८१, शनिबार

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ १९ गते । लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पुर्‍याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्तरुपमा उतारिएको छ । 

ती समुदायका ईश्वर रिजाल, उमालाल विश्वकर्मा, ऋषिबावु परियार, ओमप्रकाश भिके, ओमप्रकाश रामदाम, कालु सार्की, कृष्ण दर्जी, किसन दुसाध, कृष्ण दर्जी, कृष्णसिंह परियार, खेम नेपाली, गणेशबहादुर परियार, गिरीबहादुर बस्याल, गोल्छे सार्की र घोइरे कामीलगायत १२१ व्यक्तित्वका जीवनीलाई पुस्तकभित्र समेटिएको छ ।   

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पूर्वमन्त्री जितु गौतम, संविधानसभा सदस्य कमला विश्वकर्मा, पूर्व राजदूत पदम सुन्दास र पूर्वसचिव डा.मानबहादुर विकलगायतले आयोजित कार्यक्रममा  सो पुस्तकको सार्वजनिक गर्नुभयो । सो अवसरमा आयोगका अध्यक्ष देवराजले दलित समुदायले अझै पनि भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नभएसम्म समृद्ध नेपाल निर्माणको सपना पूरा हुन सक्दैन भन्नुभयो ।उहाँले भन्नुभयो, “जतिसुकै उच्च तहमा पुगे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन हुन सकेको छैन । जातीय भेदभाव तथा छुवाछूतका व्यवहारमा परिवर्तन आएको छैन ।” पूर्वमन्त्री जितुले पर्याप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार सुनिश्चित र प्राप्तिको निम्ति दलितसहित सीमान्तकृत समुदाय एकजुट हुनुपर्छ भन्नुभयो । 

पूर्व राजदूत सुन्दासले दलित समुदायको सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य कमलाले दलित समुदायको अधिकारका लागि थप कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुस्तकका लेखकद्वय त्रिभुवनचन्द्र र किरणचन्द्रले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो । रासस