• १३ मंसिर २०८१, बिहिबार

पाल्हीनन्दनका भूमिहीन दलित सडकमै बस्न बाध्य

blog

सुकुम्वासी । फाइल तस्बिर

पाल्हीनन्दन (नवलपरासी) जेठ १९ गते । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी  आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् ।

भूमिहीन दलितलाई कानुनबमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने संविधानमा व्यवस्था रहेपनि गाउँपालिका र आयोगले यहाँका भूमिहीन दलितलाई आवासका लागि जग्गा उपलब्ध नगराउँदा सडकमा फुसको छाप्रो बनाएर बासिरहेको पाल्हीनन्दन-४ का रामु चमारले बताउनुभयो । आयोग र गाउँपालिकामा आवासका लागि पटक पटक फाराम भरे पनि जमिन नपाएको स्थानीय शुकदेव चमारले बताउनुभयो । उहाँका अनुसार पुस्तौँदेखि सडकमा छाप्रो बनाएर बस्दै आएकामा गत वर्ष सडक स्तरोन्नति गर्दा घर भत्काइएको हो ।

आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । पाल्हीन्दन-४ लोहरौलीका भूमिहीन बासफोर (डोम) समुदायले बाजेबुवाको पालादेखि लोहरौलीबाट बैरवा जाने सडकमा फुसको छाप्रो बनाएर बसोबास गर्दै आएका छन् । 

पछिल्लो वर्ष सडक स्तरोन्नतिका क्रममा विवाद भएपछि बसोबासको समस्या भएको सन्दीप बासफोरले बताउनुभयो । आवासका लागि फाराम भरेर जमिन उपलब्ध गराइदिन गाउँपालिका, वडा कार्यालय र सुकुम्वासी आयोगमा अनुरोध गरिएको भन्दै अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल नगरेको उहाँको भनाइ छ ।

पाल्हीनन्दनका आवासविहीन दलित समुदायले पटक पटक सम्बन्धित कार्यालयमा आवासका लागि फाराम भरेका छन् । गाउँपालिकाले निर्णय गरेर सुकुम्वासी आयोगमा पठाएपछि आयोगले स्वीकृति दिएसँगै प्रक्रिया अगाडि बढाइने पाल्हीनन्दन‐४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताउनुभयो । जग्गा उपलब्ध गराउने विषयमा वडा कार्यालयले गाउँपालिकालाई अनुरोध गरिरहेको उहाँको भनाइ छ । रासस