ललितपुर, जेठ १९ गते। खानेपानी मन्त्री राजेन्द्र राईले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने बताउनुभएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
‘‘नागरिकले विश्वास गरेर जनप्रतिनिधि बनाएका छन्। हामी जनप्रतिनिधि शासक होइन सेवक बन्नुपर्छ’’, मन्त्री राईले भन्नुभयो। उहाँले जनताले औँला नउठाउने गरी इमान्दार भएर मेहनतका साथ काम गर्नसमेत जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। मन्त्री राईले जनतालाई शिरमा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझावसमेत दिनुभएको छ।
उहाँले जनतालाई सुखी र खुसी बनाउन आम्दानी बढ्नुपर्ने भन्दै त्यसका लागि योजना बनाएर काम गर्न सुझाव दिनुभएको हो। ‘‘जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि के गर्नुहुन्छ त्यो महत्त्वपूर्ण कुरा हो’’, उहाँले भन्नुभयो, ‘‘जनता धनी, सुखी र खुसी हुनुपर्छ। त्यसका लागि तपाईँहरूले जनताको आम्दानी बढाउने काम गर्नुपर्छ।’’
खानेपानीमन्त्री राईले मन्त्रालयले अब कसैले पानीका लागि लाइन बस्नु नपर्नेगरी काम गरिरहेकोसमेत बताउनुभएको छ। ‘‘अब आमा, भाउजू, दिदी, बहिनी कसैले नाम्लो बनाएर पिठ्युँमा पानी बोक्नुपर्ने, धारामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालय अगाडि बढेको छ’’, मन्त्री राईले भन्नुभयो, ‘‘महालक्ष्मी नगरपालिकामा खानेपानीको समस्या भएको कुरा मन्त्रालयमा पुगेको छ। त्यसका लागि मन्त्रालय गम्भीर बनेको छ।’’
महालक्ष्मी वडा नम्बर ८ को वडा कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री राईले मन्त्री भन्दा नागरिकको कामका लागि वडाध्यक्ष शक्तिशाली बन्ने बताउनुभयो। नागरिकको सेवा गर्ने शक्तिशाली व्यक्ति बस्ने भव्य भवन बनेकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘‘जनताको काम गर्न अहिले सङ्घ, प्रदेशको मन्त्री भन्दा वडाको अध्यक्ष शक्तिशाली हुन्छन्। त्यसका लागि कार्यालयको भव्य भवन बनेको छ। यो खुसीको कुरा हो।’’
वडा कार्यालय उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य प्रेम महर्जन, महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा महालक्ष्मी नगरपालिका १० वटाका अध्यक्ष र जनप्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले ८ नम्बर वडा कार्यालयको भवन एक करोड १६ लाखमा बनेको जानकारी दिनुभयो। २०७८ मा ठेक्का लागेर यो भवन २०८० पुसमा निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ। ललितपुरको लुभुको देविस्थानमा महालक्ष्मी नगरपालिकाले ८ नम्बर वडा कार्यालय बनाएको हो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिका भवन बन्न नसके पनि अब नगरपालिकाले तीन वटा वडा कार्यालयको भवन मात्र उद्घाटन गर्न बाँकी रहेको जानकारी गराउनुभयो। वडा नम्बर ३ र ९ को भवन बनिसकेका छन्। वडा नम्बर ४ मा भने भवन बन्न बाँकी नै रहेको उहाँले प्रष्ट पार्नुभयो।