• १२ साउन २०८१, शनिबार

मुसहरनियाका किसानलाई धानको बीउ वितरण

blog

धानको बीउ । फाइल तस्बिर

जनकपुर, जेठ १९ गते । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको धानको बीउ वितरण गरेको छ । पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिर्भर बनाउन निःशुल्क धानको बीउ वितरण गरिएको बताउनुभयो । किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बीउ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष यादवले भन्नुभयो, “यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बीउ ल्याएका छौँ, बढी हुन सक्छ कम हुँदैन ।” उहाँका अनुसार बहुगुणी-२, रामधान, हर्दिनाथ-६, लल्का बासमती, राधा-४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बीउ वितरण गरिएको छ । अध्यक्ष यादवले धानको बीउ खरिद गर्न १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म सात लाख ९० हजारको बीउ खरिद गरिएको जानकारी दिनुभयो । उहाँले धानको बीउसँगै किसानलाई आवश्यक परामर्श, कृषिऔजार तथा उपकरण वितरण गरिँदै आएको बताउनुभयो । रासस