सिराज खान
नेपालगन्ज, जेठ १९ गते । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रअन्तर्गत विद्युत् नियमित हुन नसक्ने कारणहरूलाई लिखित रूपमा माग गर्ने निर्णय गरिएको छ ।
बाँकेको नेपालगन्जमा देखिएको विद्युत् समस्या समाधानका लागि पहल गर्न नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा निर्माण गरिएको विद्युत समस्या समाधान संयन्त्रको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर वितरण केन्द्रसँग विद्युत् नियमित नहुने कारणहरू लिखित रूपमा माग गर्ने र विद्युत् नियमित गर्नका लागि रहेका अल्पकालीन, दीर्घकालीन समस्याको पहिचान गरेर सोही बमोजिम पहल गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयबारे जानकारी गराउँदै विद्युत् समस्या समाधान संयन्त्रका संयोजक धामीले वितरण केन्द्रसँग लिखित रूपमै विद्युतका समस्या माग गरेर माथिल्लो निकायमा पनि लिखित रूपमै जानकारी गराउने र समस्या समाधानको पहल गर्ने बताउनुभयो ।
उहाँले प्रचण्ड गर्मीमा विद्युत् निकै अनियमित हुनुका साथै भोल्टेजमा पनि ठुलो समस्या आएपछि नेपालगन्जका सम्पूर्ण अगुवाहरूको भेलाले संयन्त्र निर्माण गरेको बताउनुभयो ।
राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नागरिक समाजका अध्यक्ष, प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतम, पत्रकार महासङ्घका प्रतिनिधि, उच्च अदालत बार एसोसिएसनका प्रतिनिधि, सङ्घका पूर्व अध्यक्ष नन्दलाल वैश्य र सङ्घका महासचिव सदस्य सचिव रहने संयन्त्र भेलाले गठन गरेको थियो ।
नेपालगन्जमा विद्युत् समस्या आगामी वर्षमा झन् थपिन सक्ने भएकाले संयन्त्रले सो समस्या बढ्न नदिने र समाप्त गर्ने उद्देश्यका साथ काम गर्ने जनाइएको छ ।