• १३ असोज २०८१, आइतबार

सिमकोटमा सार्वजनिक बस सेवा सुचारु

blog

सिमकोटबाट हिल्साका यात्रा गर्ने तयारीमा बस । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ १९ गते । 
हिल्सा सिमकोट सडकखण्डमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । च्याछरामा सडकको स्तरोन्नति कार्य पूरा भएपछि व्यावसायिक रूपमा बस सेवा सञ्चालनमा आएको हो ।

सिमकोट गाउँपालिका–६ का राज रावतले पहिलो पटक सिमकोटबाट हिल्सासम्म सार्वजनिक बस सेवा सुचारु भएको बताउनुभयो । उहाँले आफूले पनि पहिलो पटक सिमकोटबाट हिल्सासम्म बसमा यात्रा गरेको बताउनुहुँदै सात घण्टामा हिल्सा पुगेको जानकारी दिनुभयो ।

उहाँले सिमकोटबाट हिल्सा बस सेवा सञ्चालनमा आएसँगै यात्रुहरूलाई भाडा पनि सस्तो परेको बताउनुभयो । यसअघि यात्रुहरूले सिमकोटबाट हिल्सासम्म यात्रा गर्न बोलेरो जिपमा सात हजार रुपियाँ भाडा तिर्नु पर्ने वा ३५ हजारमा रिजर्भ गर्नुपर्ने अवस्था रहेको थियो ।

हिल्सा यातायात प्रालिका सञ्चालन गोर्खबहादुर लामाले औपचारिक रूपमा सिमकोटबाट हिल्साका लागि सार्वजनिक बस सञ्चालनमा आएको बताउनुभयो । उहाँले यसअघि काठमाडौँबाट केरुङ नाका भएर तिब्बती मार्गबाट हिल्सा पुगेका दुई वटा मिनी बस च्याछरामा सडक राम्रोसँग निर्माण नभएको कारण हिल्सा मै रोकिएका थिए । उहाँले च्याछराको सडकको स्तरोन्नति गर्ने कार्य भएपछि बस सिमकोट आई पुगेको र हिल्साका लागि बसमा व्यावसायिक यात्रा सुरु गरिएको बताउनुभयो ।

हाल एउटा मात्र बस सिमकोट पुगेको छ । सिमकोट हिल्सा ९५ किलो मिटर दूरी रहेको छ । बिहान ८ बजे छुटेको बस हिल्सामा दिउँसो चार बजे पुग्ने गरेको छ । उहाँले यकिन भाडा दर निर्धारण नगरिएको र अब चाँडै सबै खर्च जुटाएर सिमकोट हिल्साको भाडा दर निर्धारण गरिने बताउनुभयो । यी बसहरू गत भदौ अन्तिमतिर हिल्सा आइपुगेका थिए । बस हिल्सा आएसँग रुटपरमिट समेत लिइएको थियो । शुक्रबार बिहान उक्त बसले सिमकोट खार्पुका लागि पनि यात्रा सुरु गरेको छ । सिमकोटबाट खार्पु खण्डका १२ किलोमिटर दूरीमा बसले चालीस मिनेट समय लगाउने गरेको हो ।