इमान सिं राना
रामपुर (पाल्पा), जेठ १९ गते । निस्दी गाउँपालिकाको मुख्य सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ध्यानाकर्षण गराएको छ । रामपुर–बेलडाँडा– ढुङ्गानाबेशी–मित्याल–अरुणखोला खण्डसडक सञ्चालनमा आएको बसौँ बित्दा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
सो सडक खण्डअन्तर्गत नवलपुरको अरुणखोलादेखि जलुकेघाटसम्म स्तरोन्नति गरी पिच भइसकेको अवस्थामा गाउँपालिकाको मुख्य पहुँच मार्गको रूपमा रहेको रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – जलुके खण्ड अझै स्तरोन्नति नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । सडक स्तरोन्नति नहुँदा खडेरीमा धुलैधुलो, बर्खामा हिलैहिलो र पहिरो खस्ने समस्याका कारण सवारी साधन पनि चल्नै नसक्ने अवस्था सिर्जना हुने गरेकाले निस्दीका स्थानीयले निस्दी गाउँपालिका, रामपुर नगरपालिकासँगै सडक डिभिजन कार्यालय पाल्पा, सडक पूर्वाधार विकास कार्यालय पाल्पा र सडक विभाग काठमाडौँमा ध्यानाकर्षण गराएको हो ।
सरकारी बजेट विनियोजन सुरु भएको झण्डै ३० वर्षको अन्तरालमा गण्डकी प्रदेशमा पर्ने भाग जलुकेदेखि अरुणखोला बजारसम्म पुल निर्माणदेखि सडक कालोपत्र पूरा भइसकेपनि लुम्बिनी प्रदेशको पाल्पा तर्फ भने सरोकारवाला निकायको बेवास्ता र लापरबाहीले विनियोजित बजेट सही सदुपयोग हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै सडक स्तरोन्नतिका लागि तत्काल ठोस पहल थाल्न स्थानीयले आग्रह गरेको छ । स्थानीयहरूको तर्फ बाट मीन बहादुर सोमै द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘‘निस्दी गाउँपालिका पाल्पालाई जोड्ने मुख्य पहुँच मार्ग पनि यही सडक हो । त्यसैले आवश्यक स्तरोन्नतिको कार्यमा सबै सरोकारवाला निकायको तत्काल ठोस पहल गर्नका लागि हामी सम्पूर्ण निस्दी गाउँपालिकाका बासिन्दा जोडदार माग गर्दछौँ ।’’
साथै सडक स्तरोन्नति कार्य नगरी सरोकारवाला निकायले लापरबाही र ढिलासुस्ती गरे चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताइएको छ । शुक्रबार निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ध्यानाकर्षण पत्र बुझ्दै पालिकाको मुख्य पहुँच मार्ग स्तरोन्नतिको कार्य पालिका आफैले गर्न नमिल्दा समस्या भएको बताउनुभयो । ‘‘यही सडकका कारण हामी ओझेलमा परेका छौ । सङ्घ र प्रदेशले पर्याप्तता बजेट विनियोजन नगर्ने, सङ्घ र प्रदेशले काम अघि बढाएको सडकमा गाउँपालिका आफैले बजेट खर्च गर्न पनि नपाउने भएकाले समस्या भएको हो ।’’ उहाँले भन्नुभयो । सङ्घीय सरकारअन्तर्गतको बजेटमा मार्फत ठेक्का भएर केही स्थानमा काम जारी रहे पनि सुस्त गतिमा रहेको बताउनुभयो । सडक स्तरोन्नतिको लागि पालिकाले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । युवाहरूले चालेको सकारात्मक कदम प्रति उहाँले धन्यवाद दिनुभयो । मित्याल अरुणखोला खण्ड समाजसेवी लक्ष्मण ज्ञवालीको व्यक्तिगत लगानीमा खोल्नु भएको थियो । सडक ट्रयाक ओझेलमा परेपछि मध्यविन्दु नगरपालिका र निस्दी गाउँपालिकाको संयुक्त प्रयासमा ट्रयाक खोलिए पछि सङ्घ तथा प्रदेश मातहतमा योजना सञ्चालन हुँदै आएको छ ।