राममणि दाहाल
हेटौँडा, जेठ १९ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ ।
सोमबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नुभएको प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा राख्नुभएको प्रस्तावलाई प्रदेश सभाले बहुमतले स्वीकृत गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलले राख्नुभएको प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका थिए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरू सुरजचन्द्र लामिछाने, सुरेन्द्रराज गोसाईं, सिर्जना सायजु, रामकृष्ण चित्रकार, आशा लामा, श्यामबहादुर खड्का, समिता खड्गी, लक्ष्मी घिमिरे र प्रभात तामाङले राख्नुभएको संशोधन प्रस्ताव प्रदेश सभा बैठकबाट बहुमतले अस्वीकृत भएको छ ।
यसअघि मुख्यमन्त्री जम्कट्टेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आउने बताउनुभएको थियो ।
उहाँले बागमती प्रदेशका नागरिकको इच्छा र आकाङ्क्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
शिक्षामा नयाँ सोचका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै उहाँले थप पाँच वटा अस्पताललाई प्रादेशिक अस्पतालमा समेटिने बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालका सन्दर्भमा विवाद रहेको बताउँदै उहाँले गृहिणी महिला कार्यक्रममार्फत महिलालाई उद्यमशीलतामा जोड्ने गरी पाँच वर्षे कार्यक्रम बनेको बताउनुभयो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।