• १३ साउन २०८१, आइतबार

पृथ्वी राजमार्ग पोखरा क्षेत्रमा कालोपत्रे सुरु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १९ गते । पोखरा महानगरमा पर्ने पृथ्वी राजमार्गको चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्रे सुरु गरी शुक्रबार काम सकेको हो ।

१७४ किलोमिटरको पृथ्वी राजमार्गको करिब २० किलोमिटर कास्की क्षेत्रमा पर्छ । शुक्रबारसम्म राजमार्गको पश्चिम खण्डमा एकतर्फी १८ किलोमिटर कालोपत्रे भएको छ । सडक विभागले आफूहरूलाई दिएको लक्ष्य पूरा भएको र अब वर्षापछि मात्रै कालोपत्रे गरिने अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौता छ । राजमार्ग पोखरा, दुलेगौँडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुने छ भने जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको बनाइने छ । 

राजमार्गका बिजुलीका पोल र मापदण्डका घरहरू हटाउन बाँकी रहेको जनाउँदै इन्जिनियर श्रेष्ठले केही अवरोध रहे पनि वर्षापछि कामलाई तीव्रता दिइने उल्लेख गर्नुभयो ।

जामुनेदेखि पोखरासम्मको ३९ किमीको पश्चिम खण्डमा केही ठाउँमा निर्माण कम्पनीले कालोपत्रे गरेको छ । सडक विस्तारसँगै गाडीलाई पनि आवतजावत गर्न दिनुपर्ने भएकाले सडक एकातर्फी मात्र कालोपत्रे गरिएको हो । 

“कहिले सामग्रीको अभाव हुन्छ, अब मौसमले पनि साथ दिनु प¥यो,” पौडेलले भन्नुभयो, “बेस तयार भएका ठाउँमा मौसमले साथ दिए क्रमशः कालोपत्रे गर्ने हो । बेसलाई २४ घण्टासम्म राख्नुपर्ने र सो बिचमा वर्षा हुने, गाडीको आवतजावत हुने भएकाले पनि समस्या छ ।” बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरण समयमै नहुँदा पनि काम प्रभावित भएको उहाँले जनाउनुभयो ।