• १४ मंसिर २०८१, शुक्रबार

‘समझदारी र सहकार्यबाटै राजनीतिक समस्या समाधान हुन्छ’

blog

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १८ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै नेताबिच छलफल र सहकार्य गरी अघि बढेमा राजनीतिक समस्या समाधान सहज हुने बताउनुभएको छ । 

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको अवलोकनपछि गोरखापत्रसँग शुक्रबार गर्नुभएको संक्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । “सम्बन्धको सहकार्य गर्नुपर्छ, आपसी छलफल र समझदारीले समस्या समाधान हुन्छ, कसैलाई बाइपास गरेर समस्या समाधान हुँदैन” उहाँले भन्नुभयो । 


शुक्रबार भएको तीन दलका शीर्ष नेताको बैठकमा आफूले समझदारी, संवाद र सहकार्यको कुरा राखेको उहाँले प्रष्ट पार्नुभयो । सिंहदरबारमा भएको तीन दलको बैठकमा सकारात्मक कुरा भएको उहाँले बताउनुभयो । 

सरकारले पछिल्लो समय ल्याएको बजेटमा कृषि क्षेत्रमा, सूचना तथा प्रविधि क्षेत्रमा छुट्याइएको बजेट एकदम राम्रो भएको उहाँले चर्चा गर्नुभयो । “कृषिको आधुनिकीकरणबाटै मुलुकको समृद्धि सम्भव छ, आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार छन् । हिजोजस्तै फेरि कृषि उत्पादनलाई निर्यात गर्न सक्यौं भने समृद्धि त त्यसै भइहाल्छ” उहाँले भन्नुभयो । 

रोजगारी वृद्धि गर्ने, उत्पादकत्वमा वृद्धि गर्ने विषय, विज्ञान प्रविधिको विकास गर्ने विषय बजेटमा राम्रो भएको उहाँले स्पष्ट पार्नुभयो । पोखरा र भैरहवाको विमानस्थल बनाउनु आफैमा राम्रो भएजस्तै, निजगढको विमानस्थलको काम पनि चाँडै सम्पन्न गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण नगर्दासम्म मुलुकको समृद्धि सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्ने विषय कुरा गरेर होइन, काम गरेर देखाउनुपर्छ ।” 

देशको राजनीतिलाई ठीक ढङ्गले अघि बढाउन दलीय समझदारी र सहकार्यको खाँचो रहेको उहाँको भनाइ छ । "नयाँ बजेट आउन नसक्ने खालको विरोध थियो, संसद बैठक अवरुद्ध हुँदै आएको थियो । दलका नेताबिच सहमति बनेकै कारण बजेट राम्रोसँग आउन पायो", उहाँले भन्नुभयो । 

"हाम्रो दल अहिले निर्णायक शक्तिमा छैन, हामी सरकारबाट बाहिर जाँदा पनि सरकार ढल्ने होइन", भन्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले थप्नुभयो, “साना दलको नेता भए पनि हामी पनि सत्ता साझेदार दल हौं, केही महत्वपूर्ण निर्णय गर्दा हामीसँग पनि सल्लाह र सुझाव लिनुपर्छ, एक्लाएक्लै निर्णय गर्दा समस्या आइपर्छ ।”

‘भेटघाटका लागि बोलाएको ठाउँमा जानु नराम्रो होइन, शेरबहादुर देउवाले बोलाउँदा छलफलका लागि जानु नराम्रो होइन’ उहाँले भन्नुभयो, “भेटघाट र छलफल गर्दैमा कोही डराउनु पर्दैन, हामीले गर्ने काम भनेको देश र जनतालाई केन्द्रमा राखेर गर्ने हो । आत्तिइ हाल्नुपर्ने कुरा केही छैन, भेटघाटका लागि बोलाएको ठाउँमा जानु पर्छ ।”


समस्याको पहिचान गरी योजनाबद्ध प्रयास गरेमा देशको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “समस्याको सही पहिचान गरी पहिलो प्राथमिकतामा गर्नुपर्ने काम के हो गर्नुपर्छ, त्यसपछिका प्राथमिकताका काम क्रमशः गर्दै जानुपर्छ ।” 

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ