• १३ मंसिर २०८१, बिहिबार

प्रहरी महानिरीक्षकद्वारा प्राप्त जिम्मेवारी पूरा गर्न निर्देशन

blog

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर । फाइल तस्बिर

काठमाडौँ, जेठ १८ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ ।

सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटिई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँले उक्त निर्देशन दिनुभएको हो । महानिरीक्षक कुँवरले सङ्गठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरोरुपमा उत्रन निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “सबै प्रहरी कर्मचारीहरूले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै सङ्गठन बलियो भए हामी बलियो हुन्छौँ ।” यसै गरी उहाँले सङ्गठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनु आवश्यक रहेको बताउनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानिरीक्षक कुँवरले सङ्गठनको नीति र आवश्यकता अनुरूप नै सरुवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढङ्गले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आफू मातहतका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई निष्ठावान्, इमानदार एवं थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

यसअघि प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलेसमेत सरुवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । रासस