• १२ साउन २०८१, शनिबार

राँझा विमानस्थलबाट १८ लाख बराबरको मोबाइल डिस्प्ले बरामद

blog

नेपालगन्जस्थित राँझा विमानस्थलबाट प्रहरीले बरामद गरेको मोबाइलको कम्बो डिस्प्ले । तस्बिर सौजन्य : बाँके प्रहरी

गजेन्द्र गुरुङ

खजुरा, जेठ १८ गते । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको जनाएको छ । प्रहरीले शुक्रबार विमानस्थल भित्रबाट १८ लाख रुपियाँ बराबरको खरिद बिक्रीको बिल बिजक नभएको सात सय २० थान मोबाइलको कम्बो गिस्प्ले बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार खरिद बिक्री बिल बिना नै नेपालगन्जबाट काठमाडौँ विमानमार्फत कुरियर गरेर पठाउन लागिएको अवस्थामा मोबाइलको कम्बो डिस्प्ले बरामद गरिएको हो । पठाउने व्यक्तिका बारेमा अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडी बढाइने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ बाट अन्दाजी दुई लाख ८७ हजार रुपियाँ बराबरको अवैध लेडिज कुर्ता, सुरुवाल र लुङ्गी बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ बाट ४४ हजार ६ सय ४० रुपियाँ बराबरको तीन सय ७२ थान चप्पल समेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

मोबाइलको कम्बो डिस्प्ले, कुर्ता सुरुवाल तथा चप्पल गरी कुल २१ लाख ३१ हजार ६ सय ४० रुपियाँ बराबरको सामान बरामद गरेको र बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।