काठमाडौँ, जेठ १८ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । पार्टीका पोलिटब्युरो सदस्य देवशङ्कर पौडेलले लेख्नुभएको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्न आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा आएको निराशाले राजनीतिक व्यवस्थाप्रति खतरा रहेको बताउँदै उहाँले उनीहरुको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढन नसकेको बताउँदै उहाँले राजनीति सहज बनाउन तीनै तहका सरकारले यथाशीघ्र नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
उहाँले विमोचित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिँदै आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गर्नुभयो । रासस