• १३ मंसिर २०८१, बिहिबार

घ्याम्पेसाल-पाँचखुवा-देउराली-ताकुकोट सडक खण्ड कालोपत्रे हुँदै

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ १८ गते । गोरखाको भीमसेन थापा गाउँपालिकादेखि बारपाक सुलीकोट गाउँपालिकासम्म पुग्ने घ्याम्पेसाल-पाँचखुवा-देउराली-ताकुकोट सडक खण्ड कालोपत्र हुने भएको छ । भीमसेन थापा गाउँपालिकाको सिमाना देखि बारपाक सुलीकोट गाउँपालिकाको कार्यालय सम्म पुग्ने झन्डै ८ किलोमिटर सडक धेरै लामो समयपछि कालोपत्रे हुन लागेको हो । 

वि.सं २०६३ सालमा ताकुकोट गाउँ विकास समितिले ट्रयाक मार्ग खुलाइएता पनि १८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालो पत्रे गर्न लागेको हो । कालोपत्रे हुने भएपछि ताकुकोटको स्थानीयलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने भएको छ । धेरै समयको प्रयासपछि अहिले आएर कालोपत्रे हुन लागेको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । बारपाक सुलीकोट गाउँपालिकाको विशेष पहलमा प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेट अन्तर्गत पूर्वाधार कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न लागिएको हो । 

सडक कालोपत्रे योजनाका लागि मिस्टर बिरुवा वाइबा लामा जेभी कम्पनीसँग २०७७ साल साउन १४ गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका निर्मित प्रमुख गणेश सुबेदीले जानकारी दिनु भयो । २०८१ साल असार ३० गते सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको काम लगभग अन्तिम अवस्थामा पुगेको साथै समय सीमा भित्र रहेर काम सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पुर्‍याएको उहाँको भनाइ छ । 

बारपाक सुलीकोट गाउँपालिकाको कार्यालयसम्म पुग्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपूर्ण यात्रा गर्दै आएका ताकुकोट बासीहरूमा कालोपत्रे हुने भएपछि खुसी मिलेको छ । सडक कालोपत्रे भएपछि ४५ मिनेटमा गोरखा सदरमुकाम सम्म पुगिने भएको छ । झन्डै ३ दर्जन भन्दा बढी पटक सडक कालोपत्रे गर्न प्रधानमन्त्री देखि प्रदेशका मुख्यमन्त्रीलाई भेटेर बजेट माग गरिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकले नजिकै रहेको आरुघाट गाउँपालिका, भीमसेन गाउँपालिकामा यात्रा गर्न निकै सहज हुने भएको छ । 

यता पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर दीपक बस्नेतले भने यसै गरी निर्माण कम्पनीले बेलैमा काममा ध्यान दिएर चासोको साथ काम अघि बढाउने हो भने विकासले गति लिने उहाँको विश्वास छ । अहिले त्यस सडक कालेपत्रे हुने भएपछि  त्यहाँका स्थानीयहरू खुसी भएका छन् । 

पूर्वाधार कार्यालय गोरखाको २९ करोड ७७ लाख २० हजार ९ सय २० रुपियाँमा पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच ८ किलो मिटर सडक कालो पत्रे र एक साइडमा नाली बनाउनु पर्ने सम्झौता उल्लेख छ । बाटोको ८ मिटर चौडाइ र २ किलोमिटर लम्बाई, सबबेश,सबग्रेड फाइनल भएकाले समय सीमा भित्र नै कालो पत्रे सम्पन्न हुने विश्वास लिएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।