• १५ असार २०८१, शनिबार

जुम्लामा जताततै इन्धन बिक्री

blog

जुम्ला बजारमा किराना तथा इलेक्टिकल पसलमा बिक्रीका लागि राखिएको पेट्रोल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ १८ गते ।
कालीकोट जिल्लाको सिमाना नाग्म अर्थात् हिमानदीको पुल पार गरी जुम्ला प्रवेश गरेपछि तरकारी पसलदेखि इलेक्ट्रिकल पसलमा पेट्रोल र डिजेल बिक्री गर्ने गरिएको छ । 

नाग्मको सिमा पार गरेसँगै जताततै इन्धनका ड्रम देख्न सकिन्छ । नाग्मदेखि जुम्ला बजारसम्मको दूरी ३२ किलोमिटर छ । तिला गाउँपालिका, तातोपानी गाउँपालिका र चन्दनाथ नगरपालिका भित्रका सडक छेउका प्रायः सबै पसलमा पेट्रोल र डिजेल पाउन सकिन्छ । यहाँ इन्धन बेचबिखनमा कसैले पनि रोक लगाएको छैन ।

तातोपानी गाउँपालिका वडा नं २ मा रहेको सन्तोष एण्ड प्रदिप दुध डेरी तथा फलफुल तरकारी पसलमा एकातिर तरकारी र खुद्रा समानको व्यापार हुन्छ भने पसलकै एकापट्टी पेट्रोल भरिका क्यान (जरकिन) राखिएका छन् । यस्ता धेरै तरकारी, खाद्य, इलेक्टिनिक पसलमा इन्धन राखिएका छन् । जुम्ला बजारका प्रायः पसलमा पेट्रोल बेच्न राखिएको छ । तातोपानी ४ का भिमप्रसाद उपाध्यायले इन्धन कसले बेच्न पाउने कसले नपाउने भन्ने कुनै मापदण्ड नभएकाले जताततै राख्ने गरिएको बताउनुभयो ।

‘‘नियमन निकाय छैन । बजारमा रहेको आधिकारीक पेट्रोलपम्प जहिले पनि बन्द हुने गरेको छ’’ उपाध्यायले भन्नुभयो, ‘‘हामी कार्यलय प्रयोजनका लागि इन्धन पेट्रोल लिन पम्प आउछौं, तर खुला कहिलै हुँदैन । अन्य तरकारी, खाद्यन्न, इलेक्ट्रिकल पसलको बिल राखेर पेट्रोल हालिएको भनेरभन्दा कार्यालयको लेखाले नमान्ने भएकाले पनि पम्पमै आउछौँ । तर खुला कहिलै हुँदैन ।’’

पेट्रोल बजारका पसलमा पाइने गरेको छ । यसको निगरानी कसले गर्ने भन्ने पनि एकिन नभएको उपाध्यायले सुनाउनुभयो । बजार अनुगमनको आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालय हो । अहिलेसम्म प्रशासन कार्यालयले पनि जताततै बेच्दै आएको पेट्रोलका विषयमा कतै पनि बोलेको देखिदैन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमेरीले कानुनी रुपमा पेट्रोल खुला बेच्न नपाउने हो । कतिपयले अनुमती लिएर बेच्ने गरेको छ । एक जनाले नियमति पेट्रोल आपूर्ति गर्न नसक्ने भएकाले सहजताका लागि सबैतिर व्यापारिक हिसावले बेचबिखन चलेको बताउनुभयो ।

सुरक्षाका हिसावले खतरा भए पनि यातायातलाई अति आवश्यक हुने भएकाले आपूर्तिको वैकल्पीक उपाय नहुँदा केही गर्न नसकिएको बताउनुभयो । कुन व्यापारीले के बेच्न पाउने भन्ने बिषयमा अनुगमन गर्ने अर्को सरकारी निकाय उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पनि मौन छ । अनुमगनको अधिकार स्थानीय तहमा पनि छ । स्थानीय तहले पनि वैकल्पीक उपाय दिन नसकेकाले गुपचुप छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले एक मात्र पेट्रोल पम्प भएको र उसले आपूर्ति गर्न नसक्ने भएकाले अरुलाई बन्द गराउन नसकेको बताउनुभयो । अध्यक्ष चौलागाईले जथाभावी बेचबिखन हुँदै आएको पेट्रोल नियन्त्रणका लागि छलफल भए पनि नियमति पेट्रोल आपूर्ति गर्न सक्ने आधिकारी बिक्रेता नभएकाले बिकल्प दिन नसकेको सुनाउनुभयो ।

अध्यक्ष चौलागाईले अब जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सबै तिरका पालिका प्रमुखलाई राखेर पेट्रोल व्यवस्थापनका विषयमा छलफल जरुरी रहेको बताउनुभयो । यस अघिका छलफल निचोडमा पुग्ने नसक्ने भए । यसको बारेमा थप छलफल गर्नु परेको बताउनुभयो ।

नियमित पेट्रोल पाइने निकायको अभावले पनि प्रशासन र स्थानीय सरकार मौन भएको अनुमान गरिँदै आएको छ । जुम्लामा आफ्नो फमको कारोवारमा केहीले इन्धन बिक्री गर्ने उल्लेख गरेका छन् भने केहीले उक्त कुरा खुलाएका छैनन् ।