मोरङ, जेठ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)वर्तमान सत्तासमीकरणमै रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उहाँ वर्तमान सत्तासमीकरणकै पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताउनुभयो । बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समीकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राख्नुभयो । “वर्तमान समीकरण अनुसार नै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ”उहाँले भन्नुभयो । रासस