• १३ साउन २०८१, आइतबार

कालिगण्डकी कोरिडोर : मालढुङ्गा-हर्मिचौर खण्डमा धमाधम काम

blog

कोरिडोरको मालढुङ्गा–बलेबा खण्डको सडक स्तरोन्नतिका लागि काम गर्दै मजदुर। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, जेठ १७ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्तर्गत तल्लो खण्डमा पर्ने बागलुङको मालढुङ्गादेखि गुल्मी हर्मिचौर खण्डमा सडक निर्माण कार्यले तिब्रता पाएको छ । 

निर्माण व्यवसायीले पर्याप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट र ग्याबियन जाली लगायतका पूर्वाधार निर्माणलाई गति दिएको कालिगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । यस खण्डमा पर्ने ५४ किलोमिटर दूरीको सडक स्तरोन्नति सहित कालोपत्र गर्न दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । 

मालढुङ्गा–बलेबा खण्डको १० किलोमिटर र बलेबाल–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकको पूर्वाधार निर्माण धमाधम भइरहेको कालिगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार मालढुङ्गा–बलेबा खण्डको भौतिक प्रगति ४५ प्रतिशत र बलेबा–हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण व्यवसायीलाई काम गरे अनुसारको आयोजनाले रकम भुक्तानी दिन नसक्दा सोचेअनुसार भौतिक प्रगति हासिल हुन नसकेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, "बलेबा–हर्मिचौर खण्डको सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले सडक निर्माणलाई तिव्रता दिएका थिए । समयमै निर्माण व्यवसायीलाई रकम भुक्तानी दिन सकेको भए लक्ष्यभन्दा अगावै योजना सम्पन्न हुने थियो । तर निर्माण व्यवसायीलाई काम गरे अनुसारको रकम भुक्तानी गर्न आयोजनाका तर्फबाट सकिएन ।"

यो खण्डको सडक निर्माण गर्ने कालिका कन्ट्रक्सन प्रा.लिलाई करिब ३५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको सूचना अधिकारी इन्जिनियर खत्रीले बताउनुभयो । बजेट अभावका कारण निर्माण व्यवसायीलाई बिल अनुसारको रकम भुक्तानी गर्न समस्या भएको उहाँको भनाइ छ । अहिले यस खण्डको सडक स्तरोन्नतिका लागि पर्याप्त मात्रामा उपकरण र करिब ३ सय मजदूर दैनिक रुपमा परिचालन भएको उहाँले बताउनुभयो । यो खण्डको सडक निर्माणका लागि आयोजनाले कालिका कन्ट्रक्सन प्रा.लि सँग तीन वर्षभित्रमा काम सक्ने गरी ३ अर्ब ३० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । बजेट समस्या नभए यो खण्डमा आर्थिक वर्ष २०८१-०८२ भित्रमै योजना सम्पन्न गर्ने लक्ष्य थियो । 


मालढुङ्गा–बेलबा खण्डको भौतिक प्रगति ४५ प्रतिशत छ । सडक चौडा पार्ने, पर्खाल लगाउने, ग्याबियन झाली भर्ने लगायतका पूर्वाधार निर्माणका कामहरु धामधम भएको आयोजनाले जनाएको छ । दैनिक ६० देखि ७० जना सम्म मजदुर परिचाल गरेर निर्माण व्यवसायीले काम गरेको सूचना अधिकारी इन्जिनियर खत्रीले जानकारी दिनुभयो। 

यो खण्डको १० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न खड्का–कृष्ण बिएन जेभीसँग ५५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार आर्थिक वर्ष २०८२-०८३ भित्र यो खण्डको निर्माणको काम सक्नुपर्नेछ । 

आयोजनाको बागलुङ खण्डमा पर्ने ३० किलोमिटर सडक स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । अहिले बेस बिछ्याउने कार्यले तीव्रता पाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । 

यसैगरी कालिगण्डकी कोरिडोरको तत्लो खण्डमा पर्ने दुईसय ४० किलोमिटर सडक मध्य एकसय ६५ किलोमिटर सडक यसअघि नै कालपत्रे गर्ने काम सम्पन्न भएको छ । राम्दीदेखि रानीमहल खण्डको १७ किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्र गर्न ठेक्का आह्वान भइसकेको आयोजना कार्यालय पाल्पाले जनाएको छ । 

यस खण्डमा बनाउनुपर्ने ५९ वटा पक्की मोटरेबल पुलमध्ये ३४ वटा निर्माण भइसकेका छन् । १७ वटा पुल ठेक्का लगाउन बाँकी छन् भने ९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । तीमध्ये बागलुङ खण्डमा ६ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएका र ३ स्थानमा पुल बनाउन बाँकी रहेको आयोजनाले जनाएको छ ।  

कालिगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा (तल्लोखण्ड) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पामा आयोजना कार्यालय छ । मलढुङ्गा–बेनी–जोमसोम–कोरला (माथिल्लो खण्ड) दुई सय दुई किलोमिटर खण्डका लागि मुस्ताङको जोमसोम कार्यालयबाट काम भइरहेको छ । 

कुल चारसय ४२ किलोमिटर सडकमध्ये माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डमा दुई सय २ किलोमिटर लम्बाइ छ । ठेकेदारको ढिलासुस्तीका कारण मालढुङ्गादेखि बेनी सम्मको १३ किलोमिटर दूरीको सडक निर्माणले गति लिन सकेको छैन । यो खण्डको सडक निर्माण अलपत्र जस्तै छ ।  

यसैगरी कमजोर भूगोल र पहिरोग्रस्त क्षेत्र भएकाले म्याग्दी खण्डमा पर्ने ४२ किलोमिटर सडक निर्माण पनि अपेक्षा अनुसार भौतिक प्रगति हुनसकेको छैन । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना सम्पन्न भएमा आर्थिक र सामाजिक विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ । कालिगण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनेहुँदा यस क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ । 

नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिडोरको पूर्व नवलपरासीमा ८७ किमि, पाल्पामा ७८ किमि, गुल्मीमा ४२ किमि र बाग्लुङमा ४० किमि, पर्वतमा १३ किमि, म्याग्दीमा ४२ किमि र मुस्ताङमा १ सय ४७ किमि पर्छ । पूर्व नवलपरासीबाट सुरु भएर पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पुग्ने यस राजमार्गले सयौं बस्तीलाई जोड्नेछ । 

यो आयोजना २०६४ मा सुरु भएको हो । पाँच वर्षमा निर्माण सक्ने लक्ष्य भएपनि बजेट अभाव, निर्माण व्यवसायीको ढिलासुस्ती र कोराेनाका कारण सडक निर्माणमा ढिलासुस्ती हुँदै आएको छ ।