सुजल श्रेष्ठ
प्युठान, जेठ १७ गते । जिल्लामा आगलागीपीडित २२ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । प्युठान नगरपालिकाको १० परिवार र माण्डवी गाउँपालिकाको १२ परिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।
टेवा संस्था ललितपुरको आर्थिक सहयोगमा पूर्णरुपमा घर जलेका परिवारलाई राहत प्रदान गरिएको महिला सहयोग मञ्च प्युठानका अध्यक्ष पार्वता आचार्यले बताउनुभयो ।
माण्डवी गाउँपालिकाको २, ४ र ५ नम्बर वडा तथा प्युठान नगरपालिकाको ३, ६ र ७ नम्वर वडाका अग्निपीडितलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
५० केजी चामल, तीन केजी दाल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी चिउरा, त्रिपाल सिरक, डसना र झुल वितरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, ५५ जना बालबालिकालाई स्टेशनरी र झोला वितरण गरिएको छ । त्रिपाल नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशमार्फत वितरण गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा ४४ घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनुभयो ।