• १२ साउन २०८१, शनिबार

अत्यधिक गर्मीले कैलालीको जनजिवन कष्टकर

blog

भावना जोशी 

अत्तरिया, जेठ १६ गते । कैलाली लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि जनजिवन कष्टकर बनेको छ । बुधबार  कैलालीको तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको छ । 

महाकाली वेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार बुधबार कैलालीको अधिकतम तापक्रम ४२ डिग्री पुगेको छ । न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखा सुदूरपश्चिमले जनाएको छ ।

महाशाका अनुसार प्रदेशको तराई भूभागमा तीन दिनसम्म तातो हावा तथा तातो लहर चल्नेछ । सबैलाई सतर्कता अपनाउन महाशाखाले सुझाब दिएको छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस तापमान मापन गरिएको थियो । 

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि आउने भएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । 

माहाशाखाले गर्मीको समयमा घर बाहिर सकेसम्म ननिस्कन सुझाव दिएको छ । गर्मीका कारण विद्यालयमा पढ्ने बालवालिका वृद्ध वुद्धाहरु बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीले बजार क्षेत्र सुनसान छ । 

व्यापार व्यवसायमा समेत असर पुगेको व्यवसायीको गुनासो छ । किनमेलका लागि ग्राहक आउन छाडेको व्यापारीको भनाइ छ । एक दुई दिन यस्तो अवस्था रहे खानेपानीको समेत समस्या उत्पन्न हुनसक्ने बताइएको छ ।