• १२ मंसिर २०८१, बुधबार

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

blog

अचार बनाउने तालिममा सहभागी महिला । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, जेठ १६ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई तालिम प्रदान गरेर स्वरोजगार बना आत्मनिर्भर बनाउने उद्देश्यसाथ सात दिने अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो ।

मासु, बयर, गाजर, लसुन, अदुवालगायतका सात प्रकारका स्थानीय स्तरमा उत्पादन हुने तथा पाइने वस्तुबाट अचार बनाउनका लागि तालिममा सीप प्रदान गरिने उहाँले बताउनुभयो । अन्य वस्तुहरु स्थानीयस्तरमा स्थानीयले आफै उत्पादन गर्ने तथा बयर यस क्षेत्रका वन जङ्गलमा प्रशस्तै पाइने भएको हुँदा खाली समयको उपयोग गर्दै महिलाले अचार बनाउन सकुन् र घरमै बसेर आय आर्जनको माध्यमबाट आर्थिकरुपले पनि आत्मनिर्भर बन्न सकुन् भनेर तालिम सञ्चालन गरिएको वडाअध्यक्ष खरेलले जानकारी दिनुभयो ।

वडाका स्थानीय ३२ जना महिलालाई तालिममा सहभागी गराइएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयको एक लाख रुपियाँको बजेटबाट उक्त तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । महिलाले तालिममा सिकेका सीपबाट घरमै बसेर खाली समयको उपयोग गर्दै आफै उत्पादन गरेका स्थानीय वस्तुबाट अचार बनाइ बिक्री वितरण गरेर आफ्नो आयस्रोत बढाउने र आफ्नो खुट्टामा आफै उभिने आफूले आशा गरेको वडाअध्यक्ष खरेलले बताउनुभयो ।

तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उहाँहरु उद्यमी बन्ने आफूले अपेक्षा लिएको खरेलले बताउनुभयो । उहाँहरुले उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले भूमिका खेल्ने र गुणस्तरीय उचार उत्पादन गरेका स्थानीयको अचार बिक्री वितरणमा आफूहरुले सहयोग गर्ने बताउनुभयो । महिलाले तालिमपछि तयार पारेका अचार परीक्षण गरा ब्रान्डिङ गरिने उहाँको भनाइ छ ।