• १५ असार २०८१, शनिबार

तिला नदीमा पौडी खेल्न गएका युवा बेपत्ता

blog

तिलानदी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ १६ गते ।
तिला नदीमा एक युवा बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय युवा मङ्गलबार बेपत्ता भएका हुन् ।

तिलागुफा नगरपालिका वडा नं ७ घर भइ हाल वडा नं ६ को गाल्जे बजारमा होटेल व्यवसाय गरी बस्ने रुपकौडा बमका छोरा हिक्मत बम बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गाल्जेका अनुसार मङ्गलबार दिउँसो २ः३० बजे तिला नदीमा नुहाउन गएका बम डुबेर बेपत्ता भएको परिवारका सदस्यले खबर गरेको जनाएको छ ।

बेपत्ता भएको जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोली घटनास्थल गएर खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली र नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा सात जना गरी थप १४ जनाको टोली खोजतलासका लागि घटनास्थलमा खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले अहिलेसम्म खोजी जारी रहेको भए पनि बेपत्ता किशोर अझै फेला नपरेको जनाएको छ । बर्खाको समयमा नदीको बहाव बढ्ने भएका कारण बेपत्ता किशोरको उद्धार कार्यमा कठिनाइ हुने प्रहरीको भनाइ छ ।