फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १६ गते । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बुधबार साँझसम्म मुख्यमन्त्री बनिसक्नुहुने छ । सर्वोच्च अदालतले सोमबार पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मङ्गलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पत्र बुधबार आउला । प्रदेश प्रमुखको निर्देशन आएपछि केही समयमै शपथको तयारी गरिहाल्छौँ ।”
दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बन्दै छ । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्दै हुनुहुन्छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वास मत अवैधानिक ठहर भएपछि अब उपधारा ३ अनुसार नयाँ सरकार बन्न लागेको हो ।
पाण्डे मुख्यमन्त्री बने पनि गण्डकीले स्थिर सरकार पाउने अवस्था देखिँदैन । यहाँ नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठुलो दल हो । सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र जुट्छ । पाण्डेले ३० दिनभित्र अर्थात् असार १३ भित्रै विश्वासको मत लिनै पर्छ । त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम ल्याउनैपर्ने बाध्यता छ । पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था छैन । कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने मुख्यमन्त्री नियुक्तिपछि विश्वासको मत प्राप्त गर्न दलसँग संवाद र छलफल अघि बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रदेश स्वायत्त भने पनि हाम्रोमा केन्द्रकै निर्देशनमा दल चल्ने देखियो । धारा ३ अनुसार विश्वासको मत प्राप्त भएन भने धारा ५ मा जाने अवस्था बन्छ ।”
प्रदेश सभामा नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ र एक स्वतन्त्र सांसद छन् । माओवादीको चुनाव चिह्न लिएर चुनिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको समर्थन पाए पाण्डे सरकारले ३१ सांसदको समर्थन जुटाउन सक्ने झिनो सम्भावना छ तर देवकोटा माओवादी केन्द्रकै संसदीय दलको सदस्यको हैसियतमा रहेकाले यहाँ पनि समस्या छ ।
पाण्डे सरकारले पेस गरेको नीति तथा कार्यक्रम नै पास हुने अवस्था नहुँदा सरकारमाथि नैतिक सङ्कट आइपर्ने छ भने असार १३ भित्र विश्वासको मत पाउने सम्भावना देखिँदैन । त्यसो हुँदा उहाँ पदमुक्त भएर फेरि उपधारा ५ बमोजिम प्रदेश सभामा बहुमत जुटाउने कुनै एक सदस्यको नेतृत्वमा सरकार गठनका लागि आह्वान हुने अवस्था बन्ने छ । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली संवैधानिक प्रक्रिया अनुसार सरकार बन्ने प्रक्रियामा भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । गण्डकीमा दुई सांसद रहेको राप्रपाले एमाले र माओवादीको गठबन्धनलाई समर्थन गर्दा भने सरकार बन्ने अवस्था छ । निवर्तमान मन्त्रीसमेत रहनुभएका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान अदालतको फैसलाको सम्मान गर्दै सरकार बनाउन लाग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अदालतको आदेश मान्छौँ नै । अब बन्ने सरकारले विश्वासको मत पाउने अवस्था देखिँदैन । हामी पनि बहुमत पु¥याएर सरकार बनाउन पनि लाग्छौँ ।”
सङ्घीय प्रतिनिधि सभाका पूर्वसभामुख तारानाथ रानाभाट गण्डकीमा राजनीतिक दलले केटाकेटीको जस्तो व्यवहार देखाएको टिप्पणी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “उहाँहरू पार्टीबाट सिकेर, सङ्घर्ष गरेरै आउनुभएको हो तर व्यवहार केटाकेटीको जस्तो देखियो ।”