• १५ असार २०८१, शनिबार

मनोसामाजिक अपाङ्गताका बिरामी बढ्दै

blog

वीरेन्द्रनगर नगरपालिकामा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा भएका प्रगति समीक्षा गरिँदै । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, जेठ १६ गते । सुर्खेतको वीरेन्द्रनगरमा मनोसामाजिक अपाङ्गताका बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । सामाजिक प्रतिष्ठा गुम्ने डरले सार्वजनिक हुन कठिन भए पनि घरघरमा मनोसामाजिक बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । मनोसामाजिक अपाङ्गताको क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकामा कार्यरत राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोसिस) ले वीरेन्द्रनगरसहित जिल्लाभर मनोसामाजिक अपाङ्गताका बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ । 

एक तथ्याङ्क अनुसार वीरेन्द्रनगर नगरपालिकामा डेढ सयभन्दा बढी मनोसामाजिक अपाङ्गताका बिरामी रहेका छन् । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सरला रेग्मीले नगरपालिकाका १६ वटा वडामा गरी १५३ जना मनोसामाजिक अपाङ्गता भएका बिरामी यकिन भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या अझै बढ्ने देखिन्छ । गरिबी, आर्थिक समस्या, कर्मचारीमा बढुवाको चिन्ता, लेनदेन, अध्ययन तथा प्रेममा असफलतालगायत विविध कारणले मनोसामाजिक अपाङ्गताका बिरामी बढ्दै गएका छन् । कोसिससँगको सहकार्यमा भएको कार्यक्रमका आधारमा डेढ सयभन्दा बढी मनोसामाजिक अपाङ्गताका बिरामी फेला परे पनि सामाजिक प्रतिष्ठा गुम्ने डरले घरभित्रै उनीहरू बस्न बाध्य भएको प्रमुख रेग्मीले बताउनुभयो । 

मनोसामाजिक अपाङ्गताका बिरामीको विषयलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिइएको छ । १५३ जना मनोसामाजिक अपाङ्गता भएका बिरामीमध्ये नगरपालिकाबाट ८९ जनाले परिचयपत्र लिएको उहाँले जनाउनुभयो । पाँच वर्षदेखि निरन्तर मनोसामाजिक बिरामीको औषधी खाएकालगायत अन्य सर्त अनुसार परिचयपत्र दिइएको छ । 

मनोसामाजिक अपाङ्गताका बिरामी बढ्दै जाँदा उनीहरूको विषयलाई नगरपालिकाले गम्भीर रूपमा लिन नसकेको आरोप लगाइएको छ । उनीहरूलाई वडाबाट प्रदान गरिने बिउ पुँजीलगायतको सहयोगमा नगरपालिकाले विभिन्न बहानामा पन्छने गरेको मनोसामाजिक अपाङ्गताका बिरामी वीरेन्द्रनगर नगरपालिका–८ का शान्ता शर्माले बताउनुभयो । आफूले अगरबत्ती उद्योग सञ्चालन गरिरहेको र वडाबाट बिउ पुँजीका लागि थोरै रकम सहयोगको सिफारिस भए पनि नगरपालिकाले विभिन्न बहानामा नदिएको दुःखेसो पोख्नुभयो । 

वीरेन्द्रनगर नगरपालिका–८ का वडाध्यक्ष टीकाराम शर्माले नगरपालिकाले नै असहयोग गर्दा मनोसामाजिक अपाङ्गता भएका बिरामीले सहयोग पाउन नसकेको आरोप लगाउनुभयो । उहाँले धेरै कागजपत्र बुझाउने नाममा उनीहरूलाई दिइने भनिएको सहयोग नै पाउन नसकेको अवस्था रहेकाले वितरण पर्ने प्रणाली सहज बनाउन आग्रह गर्नुभयो । लक्षित वर्गले प्राप्त गर्ने सहयोग नगरपालिकाले झन्झटिलो बनाइदिएको उहाँको भनाइ छ । 

नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले मनोसामाजिक अपाङ्गताका बिरामी बढ्दै गएकाले यसतर्फ थप चिन्तित बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा सचेतनामूलक कार्यक्रमका साथै सहयोग प्रक्रियालाई सहज बनाइने प्रतिबद्धता जनाउनुभयो । बढ्दो मनोसामाजिक समस्याले घरभित्र मानिस पिरोलिरहेको हुँदा सचेतनामूलक कार्यक्रम गरी जनचेतना जगाइने उहाँको भनाइ छ । आगामी वर्षको बजेटमा यसतर्फ कार्यक्रम र बजेट विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो । 

कोसिसले आगामी दिनमा मनोासमाजिक अपाङ्गताको क्षेत्रमा गर्नुपर्ने कामबारे नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । कोसिसका मनोपरामर्शकर्ता नरेन्द्र शर्माले मनोसामाजिक अपाङ्गता भएका विपन्न बिरामीलाई औषधी उपचारमा सहज बनाउनुपर्ने, समुदायमा सचेतना कार्यक्रमलाई अभियानका रूपमा लैजानुपर्ने, आत्महत्या रोक्न विविध कार्यक्रम सञ्चालन गर्नुपर्ने, आयआर्जनमा उनीहरूलाई संलग्न गराउनुपर्ने, सामाजिक सुरक्षा कोषमा समाहित गर्नुपर्नेलगायतका नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने काम सुझाउनुभयो ।