• २२ असार २०८१, शनिबार

राष्ट्रिय कला प्रदर्शनी सुरु, गोरखापत्रका पत्रकार पुरस्कृत

blog

काठमाडौँ, जेठ १६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मङ्लबारबाट सुरु भएको छ । प्रज्ञा–प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका चित्रकला, मूर्ति, हस्तकलालगायत ५२२ कलाकृति राखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रदर्शनी उद्घाटन गर्नुभएको हो ।

मन्त्री तामाङले यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख ५० हजार रुपियाँ रहेको छ । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

गोरखापत्र दैनिकका सुकृत नेपाल र दी राइजिङ नेपालका रेणुका ढकालले ललितकला पत्रकारिता पुरस्कार–२०८१ प्राप्त गर्नुभएको छ । सो पुरस्कारको राशि जनही ३० हजार रुपियाँ रहेको छ । ६० हजार रुपियाँ राशिको ललितकला लेखन पुरस्कार ज्ञानेन्द्र विवशले प्राप्त गर्नुभएको छ । राष्ट्रिय ललितकला पुरस्कार समसामयिकतर्फ कृष्ण लामा (चित्रकला), श्रवणकुमार महर्जन (मूर्तिकला), परम्परागततर्फ महेश्वर डङ्गोल (चित्रकला), सुमन शाक्य (मूर्तिकला), विनोदकुमार वज्राचार्य (हस्तकला), विजयकुमार दत्त कायस्थ (लोककला), वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला अन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्य पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको छ ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार सामना राई (कोशी), विगुल ढकाल (मधेश) अनमोलरत्न तुलाधर (बागमती), मिमबहादुर रानामगर (गण्डकी), आकाश बुढामगर (लुम्बिनी), टोपेन्द्र डाँगी (कर्णाली), महेन्द्र पुन (सुदूरपश्चिम) लाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गणतन्त्र दिवसका अवसरमा प्रतिष्ठानले कला प्रदर्शनी आयोजना गरेर देशभरका हरेक विधाका कलाकारको सिर्जना कला समीक्षक, दर्शकसमक्ष अवलोकलन गर्ने अवसर दिएर कलाकारको हौसला बढाएको बताउनुभयो । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला सिर्जनामा परिणाम देखिए पनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’  कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापनाकालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्व रहेको बताउनुभयो । प्रदर्शनी जेठ ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।