• १३ साउन २०८१, आइतबार

पच्चिस सयको झोलामा बजेट

blog

बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ १६ गते । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद् सचिवालय नयाँबानेश्वर पुग्नुभएका अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य पुस्तिका राख्न प्रयोग गर्नुभएको झोलाले धेरैको ध्यान खिच्यो । यसअघिका अर्थमन्त्रीले विदेशमा प्रचलनमा रहेको ‘ब्रिफकेस’ मा बजेट वक्तव्य राखेर लैजाने गरेकामा यस पटक अर्थमन्त्री पुनले नेपाली झोलाको प्रयोग गर्नुभएको हो । 

युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालिले उत्पादन गरेको उक्त झोला कटनबाट बनाइएको कम्पनीका सञ्चालक नवराज अधिकारीले जानकारी दिनुभयो । 

भक्तपुरमा रहेको कारखानामा उत्पादन गरिएको उक्त झोलामा अल्लो र ढाकाको समायोजन जस्तो देखाइएको उहाँले बताउनुभयो । दुई हजार पाँच सय रुपियाँ पर्ने उक्त झोला अर्थ मन्त्रालयले मङ्गलबार नै खरिद गरेर लगेको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री पुनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई बजेटको प्रमुख उद्देश्यका रूपमा उल्लेख गर्नुभएको छ ।