• ४ माघ २०८१, शुक्रबार

अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौँ लगियो

blog

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिँदै।

विजयकुमार साह 

ढल्केबर, जेठ १५ गते।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि जनकपुरबाट काठमाडौँ लगिएको छ। नागरिकताको विषयमा अनुसन्धानका लागि सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहनुभएका उहाँलाई थप उपचारका लागि मङ्गलबार दिउँसो काठमाडौँ लगिएको हो। 

प्रहरी हिरासतमै रहँदा शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उहाँलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उहाँको उपचारमा संलग्न चिकित्सकले काठमाडौँ लगेर उपचार गर्न सिफारिस गरेपछि सिरोहियालाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले चिकित्सकको सल्लाह र सरकारी वकिलसँग आवश्यक कानुनी परामर्श पश्चात् अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौँ पठाइएको बताउनुभयो। 

उच्च रक्तचाप, मुटुको चालमा गडबडी, टाउको दुख्ने तथा रिङटा लाग्ने समस्या देखिएपछि उहाँलाई शुक्रबार राति ९ बजे प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। त्यहाँ स्वास्थ्य अवस्थामा सुधार नभएपछि जनकपुरकै काव्या अस्पतालमा रेफर गरिएको थियो। 

अध्यक्ष सिरोहिया सोमबार तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन आउँदा पनि उहाँ अस्पतालबाट सोही अस्पतालको एम्बुलेन्स चढेर आउनुभएको थियो। 

अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ। यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक गरी तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत मङगलबार उहाँलाई कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा ल्याइएको थियो।