भैरहवा, जेठ १५ गते । गोरखापत्र दैनिकका भैरहवा संवाददाता लक्ष्मण पौडेल एक लाख रुपियाँ राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार आयोजित एक समारोहका बिच संवाददाता पौडेललाई प्रदान गरिएको हो ।
पौडेल दुई दशक भन्दा लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारितामा क्रियाशील हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी संयोजक रहेको मूल्याङ्कन समितिले पौडेललाई पुरस्कृत गर्न सिफारिस गरे बमोजिम महासङ्घले उक्त पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकार र मिडियाको क्षेत्रमा उपमहानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रूपमा काम गर्न तयार रहेको बताउनुभयो ।
पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उपमहानगरपालिकाले रुपन्देहीमै ठुलो धनराशिको पुरस्कार स्थापना गरी महासङ्घसँग सहकार्य गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यमा थप सहकार्य गर्ने बताउनुभयो ।
उत्कृष्ट पुरस्कार मूल्याङ्कन समितिका संयोजक शेरबहादुर केसीले पत्रकारलाई खोजमूलक समाचार र लेखनमा थप प्रतिबद्ध बनाउन यस्ता पुरस्कारले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।