• १२ मंसिर २०८१, बुधबार

नदीजन्य पदार्थ दोहन रोक्न समन्वय समितिको ध्यानाकर्षण

blog

२०७९ असोज २१ गते आएको राप्ती नदीको बाढीले क्षति पुर्‍याएको राप्तीसोनारी ६, खल्ला टेपरीस्थित तटबन्धन । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, जेठ १५ गते । 
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थित राप्ती नदीमा गैरकानुनी रूपमा नदीजन्य पदार्थको दोहन भइरहेको भन्दै उक्त कार्यलाई तत्काल रोक्नुपर्ने मागसहित जिल्ला समन्वय समिति बाँकेको ध्यानाकर्षण गराइएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष लवराज खरेलले वडाको ढलैया नाका र भसुरीया घाटमा गैरकानुनी नदीजन्य पदार्थको दोहन गरी उत्खनन कार्य भइरहेकाले सो कार्य तत्काल रोक्न र नियमन गर्नका जिल्ला समन्वय समिति बाँकेको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

उहाँले जिल्ला सदरमुकाम नेपालगन्जदेखि करिब नौ किलोमिटर पूर्व राप्ती नदीको पूर्वी तटमा अवस्थित वडा नं. ६ को सिमानाको उत्तरपश्चिम र दक्षिणपश्चिमतर्फ राप्ती नदीले बर्सेनि वर्षायाममा आफ्नो बहाव परिवर्तन गर्दा मानव बस्ती डुबानको जोखिममा र खेतीयोग्य जमिन कटान पटान हुने समस्या रहेको हुँदा राप्ती नदी कटान नियन्त्रणका लागि तटबन्धन तथा स्थानीय किसानको बालीनाली नष्ट गरिदिने र लगाएको बालीनाली छिमेकी पालिका डुडुवाका पशुपालक किसानका पशुचौपायाले नष्ट गरिदिने गरेको हुँदा उक्त कार्य तत्काल रोक्नका लागि समन्वय प्रमुखलाई ध्यानाकर्षण गराइएको बताउनुभयो ।

डुडुवा गाउँपालिकाले सीमा क्षेत्रमा नदीजन्य पदार्थ ठेक्का लगाउँदा ठेकेदार कम्पनीले सिमाना मिचेर आफ्नो वडाअन्तर्गत पर्ने खल्ला टेपरीको बस्तीलाई र जनता तटबन्धनको बाँधलालसमेत जोखिम हुनेगरी नदीजन्य पदार्थ गैरकानुनी रूपमा दोहन गरी उत्खनन कार्य गर्ने गरेकोले राप्तीसोनारी र डुडुवा गाउँपालिकाबिच पटक पटक सिमाना विवाद भई असहजता सिर्जना हुने भएकाले दिनप्रतिदिन सिमाना विवाद गम्भीर समस्या बन्दै गएको हुँदा तत्काल सिमाना विवाद समाधान गर्न पनि ध्यानाकर्षण गराइएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

राप्ती नदीस्थित निर्माणाधीन अवस्थामा रहेको राप्ती नदी पुल निर्माण कम्पनी ‘लुम्बिनी रौताहा बन्धन भगवती जे.भी. कन्स्ट्रक्सन प्रालि’ले चलन चल्तीमा रहेको बाटो निर्माण कार्य सहजताका लागि बन्द गरी हाल निर्माण कार्य सञ्चालन भएको स्थानको दक्षिणतर्फको साइडबाट आवतजावत भइरहेको र हाल उक्त क्षेत्र धुलो उडेर वातावरणसमेत प्रदूषित भई आवतजावत गर्न कठिनाइ भएको र मानव जीवनको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको हुँदा सो क्षेत्रको यात्रा कठिन र कष्टकर भएकोले पुल निर्माण कम्पनीलाई बारम्बार लिखित र मौखिक अनुरोध गर्दासमेत कम्पनीले बेवास्ता गरी समस्या समाधान नभएकाले अविलम्ब उक्त बाटोको स्तरोन्नतिका लागि निर्माण कम्पनी र आवश्यक पहल गर्न समन्वय समितिलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।

केही समय पहिले उक्त बाटोको समस्याका बारेमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि निर्माण कम्पनीले केही दिन वैकल्पिक सडकमा ग्राभेल तथा पानी हालेजस्तो गरेपनि सो कार्यलाई निरन्तरता नदिँदा समस्या बल्झिएको अध्यक्ष खरेलको भनाइ छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलाई वडाध्यक्ष खरेलको नेतृत्वमा नेपालगन्ज आएका स्थानीयबासीले विद्यमान सिमाना विवाद, नदी कटान नियन्त्रण, तटबन्धन निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित तथा गैरकानुनी दोहन नियन्त्रण तथा नियमन र बाटो स्तरोन्नतिलगायतका समस्याहरू समाधानको पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।