• ३ असार २०८१, सोमबार

‘सरकारले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्छ’

blog

बालमैत्री स्थानीय शासनसम्बन्धी तालिमको उद्घाटनसत्रमा सहभागी अतिथि । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, जेठ १४ गते । समुन्नत समाज निमार्णका लागि तीनवटै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा वक्ताहरूले जोड दिनु भएको छ । 

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय र युनिसेफको सहयोगमा लाइफ नेपालले मधेश प्रदेशमा सञ्चालन गरेको सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सोमबारदेखि सुरु भएको बालमैत्री स्थानीय शासनसम्बन्धी तीन दिने तालिमको उद्घाटनसत्रमा बोल्दै वक्ताहरू यस प्रकारले जोड दिनु भएको हो । 

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले बालबालिकालाई घर बाटै सम्मान मिल्नुको साथै बालबालिकाको विभिन्न पक्षको विकासका लागि बालबालिकाको क्षेत्रमा लगानी हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बालबालिकामा लगानी भयो भने भोलि समुन्नत समाजको निर्माण हुन्छ । त्यसैले अहिले देखि नै बालबालिकाको क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ ।” 


उहाँले तालिममा सहभागी भएकालाई अगामी दिनमा स्थानीय र प्रदेश सरकारले निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाको विषयलाई समावेश गराउनतर्फ पहलकदमी लिन आग्रह गर्नुभयो । युनिसेफ जनकपुरधामका प्रमुख अनिता दाहालले सरकारले २०६८ सालमा बालमैत्री शासनको अवधारणालाई अगाडि बढाएको बताउनुभयो । 

बालमैत्री शासनलाई अवलम्बन गर्नेदेखि लिएर घोषणा गर्नेसम्मको कुरामा स्थानीय तहको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले बालबालिकामा लगानी गरे मात्र सुनौलो भविष्यको कल्पना गर्न सक्ने भन्दै तीनै तहको सरकारले जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । 

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले नेपाल सरकारले सन् २०३० सम्ममा सबै पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई पूरा गर्न सहभागीलाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत समाज कल्याण महाशाखा प्रमुख देवकुमारी खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशको ६ जिल्लाका १२ पालिकाबाट ३६ जनाको सहभागिता रहेको बालमैत्री स्थानीय शासन फोरमका प्रशिक्षक अशोक खनालले जानकारी दिनुभयो ।