• ३ असार २०८१, सोमबार

विपद् जोखिम उद्धारसम्बन्धी कानुनको कार्यान्वयनमा समस्या छ : प्रहरी महानिरीक्षक

blog

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर

काठमाडौँ, जेठ १४ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानुन कागजमा राम्रो भए पनि व्यवहारमा लागु गर्न समस्या रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमसम्बन्धी सरोकारवालहरूसँगको छलफलमा बोल्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताउनुभएको हो ।

उहाँले जोखिम उद्धारसम्बन्धी कानुनहरू कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको जानकारी दिनुभयो ।

महानिरीक्षक कुँवरले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताउनुभयो । उहाँले प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको बताउनुभयो । उहाँले जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको बताउनुभयो । उहाँले विपद्मा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरू मात्रै रहेको गुनासो गर्नुभयो ।

‘‘विपद् जोखिम उद्धारको लागि कागजमा राम्रो छौँ तर त्यसलाई व्यवहारमा लागू गर्न समस्या छन् । पहिलो पङ्तिमा नेपाल प्रहरी भएकाले विपद् आउँदा त्यसलाई समन्वय र सहजिकरण गर्ने काम ग्रहरीले गर्छ । मनसुनको बेला आउँछ समस्या आउँछन् । विगतमा जोखिम आउँदा प्रहरीका ड्राइभर नै बसेर रातभरी काम गरेका थियौँ । प्रहरी परिचालनको हकमा १२५ जनाको विपद् व्यवस्थापन महाशाखा छ । आवश्यकताअनुसार त्यसलाई पनि परिचालन गर्ने गरेका छौँ ।,’’ महानिरीक्षक कुँवरले भन्नुभयो, ‘‘प्रदेश स्तरमा १२५ जनाको जोखिम उद्धार टोली छ त्यसलाई पनि परिचालन गर्नसक्छौ । जिल्ला स्तरमा २५ जनाको युनिट छ । तर त्यहाँ विपत् उद्धार विज्ञता भएका स्पटिज छैन ।  विपद्को सूचना र तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरू मात्रै छन् । त्यसलाई प्रयोग गरेको अवस्था छ । सुरक्षा फौज बाहेक तत्काल विपदमा खट्ने बाहेक अरू सहयोगका अवस्था छैन ।

उहाँले सुरक्षा फौज बाहेक तत्काल विपद्मा खट्ने बाहेक अरू सहयोगका अवस्था अहिलेसम्म नभएको बताउनुभयो । उहाँले धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त नभएको उल्लेख गर्नुभयो । उहाँले नेपाल प्रहरीले जोखिमको सहजिकरण, समन्वय र तत्काल उद्धार गर्ने काम गर्दै आएको बताउनुभयो ।