• ३ असार २०८१, सोमबार

ग्रामीण सडक स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा

blog

मीना कंडेल

कावासोती, जेठ १४ गते । नवलपुरको पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण छ । यहाँ जाने जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण भएकाले यस क्षेत्रमा वर्षेनी दुर्घटनामा वृद्धि हुँदै गएकाे छ । बौदिकाली ६ नरमका हिरासिहं सारुमगरले दलदलेदेखि उत्तरतर्फ पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका जोड्ने मुख्य सडक ‘ट्रयाक’ खोलेको दुई दशक कट्दासमेत कालोपत्रे हुन नसकेको बताउनुभयो । 

करिब ४५ किलोमिटरको सडक दुई दशकसम्म स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी कम चल्छन्, मान्छेलाई जसरी पनि पुग्नुपर्ने अवस्था हुन्छ, त्यसमाथि बाटो निक्कै खराब छ, तर यो पहाडी क्षेत्रका बासिन्दाको बाध्यता हो । ”

राजमार्ग क्षेत्र गैँडाकोट नगरपालिकादेखि दुम्किबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । झण्डै डेढ दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी हुने र जीर्ण सडकका कारण यात्रुले कष्टपूर्णरुपमा ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य हुने स्थानीय चुन बहादुर गाहाले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्र बुलिङ्गटार, पोखरी, रुचाङ्ग, नरम, डेढगाँउ, रनतपुर, डाँडाझेरी, हुप्सेकोट, कोटथर लगायतका बासिन्दा ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।  

गाडीमा जति सिट क्षमतामा यात्रु चढ्छन उतिकै मात्रामा सवारी हुटमा पनि यात्रु चढ्ने भएकाले पनि यात्रा जोखिम हुने गरेको छ । जीर्ण सडक भएकै कारण धेरै सवारी यो बाटोमा सञ्चालन नभएको यातायात व्यवसायीको भनाइ छ । जिल्लाको पहाडी क्षेत्र जोड्ने अधिकांश सडक वर्षाको समयमा महिनौं अवरुद्ध हुने गर्दछ । पानी परेको समयमा कतै पहिरो जाने त कतै हिलाम्मे हुने हँुदा गाडी चलाउन समेत निकै कठिन हुने सवारी चालक शिव पोख्रेल बताउनुहुन्छ ।

बौदिकाली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी केसी सारुले नवलपुर जिल्लाको सुगम भनिएको विगट पालिका बौदिकाली भएकाले मुख्य समस्या भौतिक पूर्वाधार रहेको बताउनु भयो । पालिका भित्र कतैपनि पिच नभएकाले एउटा वडाबाट अर्काेमा जाँनको लागि एक दिन नै लाग्ने हुदा समस्या भएको बताउनुभयो ।

नवलपुरको जिल्लाको देवचुली नगरपालिकादेखि कुमसोत, पोखरी , राइकोट ,बबक ,रुचाङ्ग ,नरम र डेडगाउँ बुलिङ्गटार खण्डमा वर्षातको बेला यातायात सञ्चालन हुन सक्दैन। सरकारी काम अथवा अस्पतालसम्म समयमा नै पुग्न नपाउँदा समस्या हुने गरेको छ । बर्खाको समय होस या हिउँदको पानी परेपछि नवलपुरको पहाडी क्षेत्रका ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक हिड्ने यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् । वर्षा हुने बित्तिकै पहिरो खस्दा प्रत्येक दिन यहाँका स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ । वर्षाका कारण सडक बिग्रिंदा नवलपुरका ग्रामीण सडकमा वर्षौं ठूला दुर्घटनाहरु हुने गरेका छन् ।

आर्थिक वर्ष २०७९।०८० मा जिल्लाका आठ पालिकामा ७६ सवारी र्दुघना भएका थिए । त्यसमा २९ जनाको ज्यान गयो भने १०५ गम्भिर घाइते भएका छन् । जसमा पहाडी क्षेत्रका बुलिङ्गटार गाउँपालिका र बौदिकाली गाउँपालिकामा ५ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला टाफिक कार्यालय नवलपुरका सूचना अधिकारी लेखराम पुरीले बताउनुभयो । 

यसैगरि चालू आर्थिक वर्षको वैशाखसम्म जिल्लामा १४८ वटा सवारी दुर्घटना भएका छन्  । जसमा ४२ जनाको मृत्यु भएको र ६५ जना गम्भीर घाइते भएको सूचना अधिकारी पुरीले बताउनुभयो ।