• ३ असार २०८१, सोमबार

सामाजिक अपराध न्यूनीकरण गर्न तीनमहिने अभियान

blog

सुजल श्रेष्ठ

प्युठान, जेठ १३ गते । लागु औषध तथा सामाजिक अपराध न्यूनीकरण गर्न जिल्लामा तीनमहिने अभियान सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानले लागु औषध नियन्त्रण कार्ययोजना, २०८१ बनाएसँगै जिल्लामा सामाजिक अपराध न्यूनीकरणको अभियान सञ्चालन भएको हो ।

जिल्लामा भइरहेको र हुनसक्ने लागु औषधको उत्पादन, कारोबार र उपयोगलाई नियन्त्रण गरि समाजलाई सभ्य बनाउन कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले बताउनुभयो । जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरि कार्य विभाजन सहित तीन महिने अभियान सञ्चालन गने योजना बनेको उहाँको भनाइ छ ।

यो अभियानमा लागु औषध दुर्व्यसन, लैङ्गिक हिंसा र बालविवाह नियन्त्रणको विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्युठान नगरपालिकाको विभिन्न वडा तथा बस्तीमा पुगेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

“लागु औषध दुर्व्यसनीमा फसेका युवायुवतीहरुलाई परिवारले ख्याल नगर्दा समाजमा धेरे अपराध बढ्न सक्छ,” प्रहरी प्रमुख थापाले भन्नुभयो, “दुर्व्यसनी नियन्त्रणका लागि परिवारका सदस्यको पनि ठूलो भूमिका हुन्छ ।” जिल्लामा बाल विवाह, आत्महत्याका घटना बढ्दो अवस्थामा रहेको समेत बताउनुभयो ।

जिल्लामा पछिल्लो ७ वर्षमा २४ वटा बाल विवाहको  मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । यस वर्ष मात्र ४ वटा  मुद्दा परेको प्रहरी प्रमुख थापाले बताउनुभयो । बालविवाहका कारण पढाइ बिग्रने, मानसिक समस्या हुनेलगायतका नकारात्मक समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा अहिले सञ्चालन भएको अभियान महत्वपूर्ण रहेको पत्रकार महासङ्घ प्युठानका अध्यक्ष सञ्जय रिजाल बताउनुहुन्छ । जिल्लाम रहेका विविध सामाजिक समस्यालाई न्यूनीकरण गर्न यो अभियानले सहयोग पुग्ने उहाँको भनाइ छ । यस प्रकारको अभियानलाई निरन्तर रुपमा चलाउनुपर्ने अध्यक्ष रिजाल बताउनुहुन्छ ।