• ३ असार २०८१, सोमबार

निर्माण भएको सोह्र वर्षपछि भवन हस्तान्तरण

blog

१६ वर्षपहिले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको बाल जनता माध्यमिक विद्यालय भवन ।

दिवाकर पोख्रेल

देउखुरी, जेठ १३ गते । भारत सरकारको करिब दुई करोड रुपियाँ अनुदान सहयोगमा निर्माण भएको विद्यालय भवन निर्माण सम्पन्न भएको झन्डै १६ वर्षपछि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

दाङको लमही नगरपालिका–३, वनगाउँमा बालजनता माध्यमिक विद्यालय भवन निर्माण भएपछि पठनपाठन भने सञ्चालन भइसकेको थियो । भवन निर्माणमा लापर्बाहीसमेत भएको गुनासा तत्कालीन समयमा बाहिर आएका थिए । विद्यालय भवन चर्किनुका साथै छतसमेत दबेको थियो । पछि भवन मर्मत गरेर पठनपाठन अघि बढाइएको हो । २०१७ सालमा स्थापना भएको विद्यालयमा भारत सरकारको नगद अनुदानमा ३७ कोठे भवनको शिलान्यास २०६३ साल पुस ६ गते तत्कालीन नेपालका लागि भारतीय राजदूत शिवशङ्कर मुखर्जीले गर्नुभएको थियो । शिलान्यासपश्चात् करिब साढे दुई वर्षपछि भारत सरकारको दुई करोड र विद्यालयको करिब ३५ लाख गरी दुई करोड ३५ लाखको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको थियो । आर्थिक वर्ष २०६५/६६ सालतिर विद्यालयको भवन निर्माण भइसक्दा पनि विद्यालयलाई भने भवन हस्तान्तरण गरिएको थिएन । करिब १६ वर्षपछि भवन हस्तान्तरण गरिएको छ । 

नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले भवन हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरणपश्चात् उक्त भवन बल्ल विद्यालयको स्वामित्वमा आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रमप्रसाद चौधरीले समय नमिल्दा भवन हस्तान्तरणमा ढिलाइ भएको बताउनुभयो । भारतीय दूतावासको र विद्यालय दुवैको समय एकैचोटि मिलाउन नसक्दा समय लम्बिएको उहाँको भनाइ थियो । अध्यक्ष चौधरीले भन्नुभयो, “दाङमा अर्काे स्कुलसँगै हस्तन्तरण गर्ने भनेपछि समय लाग्यो, हाम्रो मिल्दा दूतावासको समय मिलेन, दूतावासको समय मिल्दा विद्यालयको मिलेन । यसर्थ पनि धेरै वर्ष बित्यो ।” 

बालजनता उच्च माविका प्रधानाध्यापक कृष्ण केसीका अनुसार भारतीय दूतावासको एक करोड ९९ लाख ९६ हजार नगद अनुदानमा उक्त भवन निर्माण सुरु गरिएको थियो । काम सम्पन्न गरिसक्दा करिब दुई करोड ३५ लाख कुल खर्च भएको र करिब ३५ लाख विद्यालयले खर्च गरेको प्रधानाध्यापकले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर केसीको प्रमुख आतिथ्यमा भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि सामाजिक विकासमन्त्री खत्रीले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधारमा सम्पन्न बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा क्षेत्रको विकास गर्न भारत सरकारको लगानीको प्रशंसा गर्नुभयो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भारत सरकारले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा योगदान गरेको चर्चा गर्नुभयो ।