• ३ असार २०८१, सोमबार

बार्जुकोट भ्युटावर : विकृतिको अखडा बन्दै

blog

बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोटमा निर्माण भएको भ्युटावर ।

शेरबहादुर सार्की

बाजुरा, जेठ १३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोटमा निर्माण गरिएको बार्जुकोट भ्युटावर पछिल्लो समय विकृतिको अखडा बन्दै गएको छ । भ्युटार घुम्ने नाममा स्थानीय युवकयुवतीले अश्लील क्रियाकलाप गर्नुका साथै मदिरा र धूमपान सेवनको अखडा बनेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा ३५ लाख रुपियाँ लागतमा निर्माण सुरु गरिएको भ्युटावर पूर्ण रूपमा सञ्चालन नहुँदा स्थानीय युवकयुवतीको भिड लाग्ने गरेको छ । त्यहाँ पुग्नेले अश्लील क्रियाकलापका साथै जाँडरक्सी र चुरोटलगायत धूमपान र मद्यपान गर्ने गरेको बताइन्छ । 

भ्युटावर ठड्याउने काम सम्पन्न भए पनि रङरोगनलगायत अन्य काम भने अझै बाँकी रहेको छ । टावर सञ्चालनमा नल्याउँदा कतिपयका लागि गलत क्रियाकलाप गर्न सहज भएको बुढीगङ्गा नगरपालिका–४ का स्थानीय रामचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्युटावर निर्माणको ७५ प्रतिशत मात्र काम बाँकी रहेको छ । १५ देखि २५ वर्ष उमेरका केटाकेटी बिहान, दिउँसो र रातिसम्म जाँडरक्सीलगायत धूमपान तथा मद्यपान गरेर त्यहीँ समय बिताउने गर्छन्” ।

करिब पाँच वर्षदेखि बार्जुकोट भ्युटावर निर्माणको काम अलपत्र छ । टावर निर्माण सम्पन्न तथा सञ्चालनका विषयमा कोही कसैले चासो नलिँदा यस्तो समस्या आएको स्थानीयवासी बताउँछन् । उक्त टावर वन तथा पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्ने भएकाले यसको रेखदेख डिभिजन वन कार्यालयले गरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय नरेन्द्र नाथले बताउनुभयो ।

प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७/७८ मा बार्जुकोटमा भ्युटावर निर्माणको काम सुरु गरिएको थियो । सो टावर निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले समयमै काम सम्पन्न गर्न नसकेपछि टावर निर्माण अलपत्र परेको हो । ऐतिहासिक तथा पुरातìवको दृष्टिकोणले महत्वपूर्ण मानिएको आर्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्युटावर निर्माणका लागि आव २०७७/७८ मा ३५ लाख र आव २०७८/७९ दोस्रो वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

टावर निर्माण उपभोक्ता समितिले उक्त रकमबाट पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ भुक्तानी लिए पनि ७५ प्रतिशत काम सम्पन्न गरेको छ । उपभोक्ता समितिका सचिव डम्मर रावत रकम अपुग भएका कारण टावर निर्माण अलपत्र परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निर्माणको काम रोकिएपछि झ्यालढोका तोडफोड गरेका छन् । त्यसको रेखेदेख तथा सुरक्षा गर्न पनि बजेट नभएको अवस्था छ ।’’ स्थानीयवासीको ७५ प्रतिशत लगानीमा टावर निर्माण गर्नुपर्ने अवस्था आएको भनाइ रावतको छ । 

आव २०५८/५९ सालमा सशस्त्र द्वन्द्वको बेला नेकपा माओवादी पक्षबाट भत्काइएको बार्जुकोट दरबारमा भ्युटावर निर्माण गर्नुभन्दा दरबार नै निर्माण गरिदिएको भए राम्रो हुने तथा सङ्ग्रहालय बनाउन सहज हुने यहाँका स्थानीय बताउँछन् । भ्युटावर सञ्चालन गर्ने निकाय सक्रिय नहुँदा विकृति बढ्दै गएको र अहिले बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो स्थानीयवासीको छ । राति जोडी भएर केटाकेटी आउँछन् । कोही जाँडरक्सी खाएर मात्तिएर आउने गरेको गुनासो सर्वसाधारणको छ । 

उक्त पाँचतले भ्युटावरको उच्चाइ ५० फिट रहेको छ । टावरको काठको झ्यालढोकामा समेत काटकुट गरिएको अवस्थामा छन् । झ्यालमा लगाइएका फलामका सरिया भाँचिएका छन् । समुद्री सतहबाट नौ सय मिटर उचाइमा रहेको बार्जुकोट डाँडामा टावर नै आवश्यक नरहेको र यो डाँडामा टावर नहुँदा पनि धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने स्थानीय रेखा नेपालीले बताउनभुयो ।

सोही टावरका कारण केटाकेटीबिच माया साटासाट हुनुका साथै भागेर विवाह गर्ने, युवतीका विषयमा केटा केटाबिच झगडा हुने र कुलतमा फस्ने समस्या बढेको नेपालीले बताउनुभयो । डिभिजन वन कार्यालयले टावर निर्माणमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धानको टोलीबाट छानबिन भइरहेको जनाएको छ । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र ऐडीले त्यो बेला सुरु गरिएका सबै योजनाको काम कमसल भएको समाचारमा आएपछि थप बजेट दिन समस्या भएको बताउनुभयो । योजनाको काम कमसल भयो भनेर अख्तियारले फाइल नै तानेपछि थप बजेट नदिएको सूचना अधिकारी ऐडीले बताउनुभयो ।