• ३ असार २०८१, सोमबार

बर्खा लागेसँगै शिवरत्नपुरवासी चिन्तित

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १३ गते । मनसुन लाग्ने समय आएपछि कैलारी गाउँपालिका–३ स्थित शिवरत्नपुरवासीमा चिन्ता बढेको छ । विपत् जोखिम न्यूनीकरण नभएका कारण नदी कटानको उच्च जोखिममा रहेका गाउँवासी बाढी आउने भएकाले चिन्तित बनेका हुन् । विसं २०७९ मा आएको बाढीले तीव्र रूपमा कटान गरेपछि १६ परिवार विस्थापित भएका थिए । उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । मोहना नदीको धार बस्तीतिर भएका कारण शिवरत्नपुर गाउँ नै जोखिममा रहेको छ । 

सो गाउँमा ९५ घरपरिवार बस्दै आएका छन् । दुई वर्षदेखि नै बस्ती उच्च जोखिममा रहे पनि जोखिम न्यूनीकरणको काम नभएपछि चिन्ता बढेको स्थानीय सोमती चौधरीले बताउनुभयो । 

बस्ती बचाउन कैयौँ पटक आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गर्दै उहाँले भन्नुभयो, “बर्खा फेरि आउन थालेको छ तर बस्ती जोगाउनका लागि यो वर्ष पनि केही काम भएन । हामी चिन्तित बनेका छौँ ।” आर्थिक वर्ष २०७९/८० मा २० लाख रुपियाँ बराबरको भौतिक र जैविक तटबन्ध बनाइएको थियो । सो तटबन्ध बगाएपछि त्यसमा गरिएको लगानी बालुवामा पानी भएको छ । तटबन्ध बगेसँगै १६ परिवार अन्यत्र विस्थापित भएका छन् । 

नदीको कटान नियन्त्रण र बस्ती जोगाउनका लागि बलियो तटबन्धको आवश्यकता रहेको सुदेशु चौधरीको बुझाइ छ । उहाँले बर्खा लाग्नेबित्तिकै आफूहरूलाई अर्कै मुलुकको नागरिक जस्तै महसुस हुने गरेको बताउनुभयो । मोहना नदीपारिको गाउँ शिवरत्नपुरलाई वारिको गाउँ खोनपुरसँग जोड्नका लागि २०७७ सालमा झोलुङ्गे पुल निर्माणको सुरुवात गरिएको थियो । उक्त पुलको उत्तरतिरको पिल्लर नै बाढीले बगाएपछि पुल निर्माण पनि पूरा हुन सकेको छैन । पुल नहुँदा शिवरत्नपुरवासीले बर्खामा ओहोरदोहोरको समस्या झेल्दै आएका छन् । 

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी नदीले धार परिवर्तन गरिसकेका कारण अब पहिलेको सर्भे अनुसार पुल बन्न नसक्ने बताउनुहुन्छ । झोलुङ्गे पुल बनाउनका लागि नयाँ डिजाइन आवश्यक छ । यसै गरी नदीको कटान नियन्त्रणका लागि थप बजेट आवश्यक भएको छ । थप बजेटका लागि प्रदेश वा सङ्घीय सरकारसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।