• ३ असार २०८१, सोमबार

माछापुच्छ्रे बेस क्याम्पमा भुतको कथा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १३ गते । पोखरा महानगरको गैह्रापाटनमा शनिबार दिउँसो उखरमाउलो गर्मी थियो । एसीजडित कोठामा पनि पसिना पुछ्दै पर्खिइरहेका दर्शक एक्कासि छक्क परे किन कि एक हुल केटाकेटी ज्याकेट, स्वेटर लगाएर उकालो चढ्दै थिए । उकालिएका स्कुले केटाकेटी माछापुच्छ्रे बेस क्याम्प पुगेर रोकिए । साँझ पर्न लागेकाले उनीहरू त्यहीँ बास बसे । बिदामा हिमाली क्षेत्रको पदयात्रामा गएका विद्यार्थी थकाइ, पदयात्राको जोखिमले डराएका थिएनन्, उनीहरू त भुत आउँछ भन्ने भ्रमले त्राहिमाम् थिए । यही कथामा केन्द्रित छ ‘भु भु भु भुत’ । 

बालबालिका हिमालमा यतीका पाइला भेटिएको भनाइबारे छलफल गर्छन्, उनीहरू बाटोमा मृगका बच्चा, डाँफे देखिएको अनुभव सुनाउँछन् । माछापुच्छ्रे बेस क्याम्प छेउमा एउटा पुरानो दरबार छ । त्यो दरबारकी रानीले आत्महत्या गरेको र त्यसपछि बारम्बार त्यो क्षेत्रमा भुतले तर्साउने गरेको हल्ला सबैतिर फैलिएको छ । हल्लाले भयभित भएका बालबालिकाको मुटु राति एक्कासि उच्च गतिमा चल्छ, जब म भुत हुँ भन्दै उनीहरूको टेन्टअघि एउटी महिला आइपुग्छिन् । ती महिला दरबारकी आत्महत्या गरेकी रानी ‘हिउँकेशरी’ नभएको खुल्छ । बरु बालबालिकासँगै गएकी एक महिलाले नक्कली भुत बनेर तर्साएकी हुन्छिन् । यिनै कुराको वरिपरि नाटकको कथा रुमल्लिएको छ । 

बालमनोविज्ञानमा आधारित नाटक शनिबारदेखि पोखरामा मञ्चन सुरु भएको छ । नाटककार सरुभक्तको यो नाटक पोखरा थियटरको गन्धर्व नाटकघरमा जेठ महिनाभर देखाइने छ । पदयात्रामा गएका बालबालिकाको उत्सुकता नाटकमा प्रस्तुत गरिएको छ । हास्यव्यङ्ग्यले भरिएको नाटकमा नाटककार सरुभक्तले स्वैरकल्पनाको पनि प्रयोग गर्नुभएको छ । विसं २०५३ मा प्रकाशित सरुभक्तको ‘बालबालिकाको नाटक’ मा भु भु भु भुत नाटक सङ्गृहीत थियो । नाटककार सरुभक्तले अस्तित्व नै नभएको भुतको डर बालबालिकामा निकै देखिएकाले त्यसलाई नाट्यरूप दिएको बताउनुभयो । “भुतको डरले बिरामी परेको, घरै खाली रहेको जस्ता घटना अझै सुनिन्छ,” उहाँ भन्नुहुन्छ, “अस्तित्व नै नभएको चिजले मान्छेलाई तर्साइरहेको छ ।”

नाटकका निर्देशक परिवर्तनले करिब एक घण्टाको नाटक बालबालिकामा रहेको भुत हुन्छ भन्ने गलत धारणा चिर्न सहयोगी रहेको बताउनुभयो । बाल नाटक महोत्सव गर्दै आएको पोखरा थियटरले बाल मनोविज्ञान केन्द्रित नाटकलाई प्राथमिकतामा राखेको सुनाउनुभयो । 

नाटकमा रञ्जु दाहाल, परिवर्तन, सनिता थापा, आकाश परियार, रश्मि पराजुली, राहुल श्रेष्ठ, सुपृमा श्रेष्ठ, अनिशा ढकाल, आइसा सङ्ग्रौला र प्रतिभा अधिकारीले अभिनय गर्नुभएको छ । रमेशबाबु तिमिल्सिनाको सहनिर्देशन रहेको नाटकमा गीत मिलन गिरीले लेख्नुभएको छ भने सङ्गीत देवेन्द्र ढकालको छ । मिलन गिरी, देवेन्द्र ढकाल, राजकुमारी गहतराज, निरु सुनारले गीतमा स्वर दिनुभएको छ ।