• ३ असार २०८१, सोमबार

‘सीमावासीसङ्ग सशस्त्र प्रहरी कार्यक्रम’ले सीमाक्षेत्रका बासिन्दा खुसी

blog

नेपाल भारतका सशस्त्र प्रहरी बल प्रमुख र जन प्रतिनिधिबिच सीमाक्षेत्र इशनाथ नगरपालिकामा भएको अन्तरक्रिया कार्यक्रम । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, जेठ ११ गते ।
सशस्त्र प्रहरी बल रौतहटले नेपाल भारत सीमाक्षेत्रमा सम्पन्न ‘सीमावासीसङ्ग सशस्त्र प्रहरी कार्यक्रम’ले सीमाक्षेत्रका बासिन्दा खुसी भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटद्वारा इशनाथ नगरपालिकास्थित नेपाल भारत दशगजा क्षेत्रमा गरिएको अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएको भन्दै सीमावासी खुसी भएका हुन् ।

कार्यक्रममा भारतीय सशस्त्र सीमा बल को प्रतिनिधि, भारत घोडासहान ब्लकअन्तर्गत ग्राम पञ्चायत बलुवाका मुखिया मोहम्मद फारुक आलम र इशनाथ नगरपालिका रौतहटका प्रमुख कौशल्या देवी, रौतहट सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विक्रम हुमागाइँ, वडा अध्यक्षलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा दशगजा क्षेत्र सधैँ सफा राख्नुपर्ने साथै वर्षात तथा मनसुनको समयमा हुन सक्ने बाढी तथा डुबानबाट उत्पन्न हुने जोखिम तथा त्यसका समाधानका उपायलगायत विपद्को समयमा फैलिन सक्ने विभिन्न प्रकारका रोग तथा सुरक्षात्मक उपाएको सम्बन्धमा नेपाल र भारत दुबै पक्षका पदाधिकारीबिच छलफल तथा अन्तरक्रिया भएको थियो ।

यस विषयमा दुबै देशका सीमा क्षेत्रमा व्यापकरुपमा जनचेतनामूलक कार्यक्रम गर्न पारस्परिक सहकार्य आवश्यक रहेको कुरामा विशेष जोड रहेकोले स्थानीयवासी खुसी भएका छन् । 

सशस्त्र प्रहरी प्रमुख एसपी विक्रम हुमागाईले बर्षातको समयमा बकैया नदीमा आउने बाढीले इशनाथ नपा– १ बन्जरहाले हरेक वर्ष डुवानको समस्या झेल्दै आएको र त्यसको दीर्घकालीनरुपमा निकासका लागि योजना बनाइ अघि बढ्नु पर्ने बताउनुभयो ।

सीमा क्षेत्रमा हुने गरेको अवाञ्छित गतिविधि माथि निगरानी राख्न तथा राजस्व छलेर सहजै नेपाल प्रवेश गर्ने कार्य समेतलाइ निरुत्साहित गर्न सशस्त्र प्रहरी बलले सीमाको नागरिकसँग गरेको अन्तरक्रियाबाट सीमावासी लाभान्वित बनेको नगर प्रमुख कौशल्या देवीले बताउनुभयो । उहाँकाअुनसार दशगजा क्षेत्रमा सरसफाई गरी सधैँ सफा राखिने दुवै तर्फका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सीमा स्तम्भ नम्बर २३४६/६ देखि सहायक सीमा स्तम्भ नम्बर ३४६/७ सम्म अन्दाजी आठ सय मिटर नेपाल–भारत दशगजा सीमा क्षेत्रमा सरसफाई गरिएको छ ।