• २ असार २०८१, आइतबार

स्थापनाको सात वर्षपछि नापी कार्यालय सञ्चालनमा

blog

धनुषाको ढल्केबरमा सात वर्षअिघ स्थापना गरिएको नापी कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ ११ गते । धनुषाको ढल्केबरमा स्थापना भएको सात वर्षपछि नापी कार्यालय सञ्चालनमा आउने भएको छ । नापी कार्यालय जनकपुरले सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गरेपछि सञ्चालनमा आउने निश्चित भएको हो । 

नापी कार्यालय जनकपुरले यही जेठ ६ गते अभिलेख तथा आवश्यक कागजात उपलब्ध गराएको ढल्केबर नापी कार्यालयका नापी अधिकृत वीरेन्द्र कर्णले बताउनुभयो । अभिलेख आएसँगै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 

“अभिलेख उपलब्ध गराइदिन नापी कार्यालय जनकपुरलाई पटकपटक ताकेता गर्दै आएका थियौं । बल्ल उपलब्ध भएको छ । कम्प्युटर नेटवर्किङगलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ। सम्भवत् जेठ २० गतेभित्र सेवा दिन सुरु गर्छौँ", नापी अधिकृत कर्णले भन्नुभयो । 

२०७२ असोज १४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७३ माघमा यहाँ नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुनसकेको थिएन । सोही कारण नापी कार्यालय स्थापना भएको सात वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुनसकेको थिएन । करिब छ महिनाअघि ढल्केबरमा मालपोत कार्यालयको स्थापना भएसँगै नापी कार्यालय पनि सञ्चालनमा ल्याउनका लागि प्रयास सुरु भएको थियो । 

नागरिकलाई सहज रुपमा सेवा दिने उद्देश्यले स्थापना भएको नापी कार्यालय सञ्चालनमा नआउँदा सरकारको वार्षिक लाखौं रुपियाँको सदुपयोग हुँदै आएको थियो भने कार्यालय सञ्चालनमा नआउँदा १५ कर्मचारी त्यतिकै बसेरै दिन बिताउँदै आउनुभएको थियो । कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्भेक्षक ५ जना, अमिन १ जना, सह–लेखापाल १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी ५ जना, स्वीपर १ जना गरी कुल १५ कर्मचारी कार्यरत छन् । सबै कर्मचारीको तलबमा प्रतिमहिना करिब चार लाख रुपियाँ खर्च हुँदै आएको थियो । यसरी वर्षमा कर्मचारीको तलबबाट मात्र करिब ४८ लाख रुपियाँ खर्च भइरहेको थियो । योसँग कार्यालय घरभाडा वापत वार्षिक ४ लाख ६२ हजार रुपैयाँ खर्च भइरहेको थियो । 

साविकको २१ वटा गाविस अर्थात हालको पाँच वटा पालिका क्षेत्रलाई सेवा दिने उद्देश्यसाथ यस कार्यालयको स्थापना गरिएको भएपनि हाल मालपोत र नापी कार्यालय ढल्केबरमा साविकका गाविसहरु ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ श्र्रेस्ताहरु ल्याइएको छ । 

ढल्केबरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आएपनि धनुषाको उत्तरी क्षेत्रका तीन पालिकाका जग्गासम्बन्धी सबै कामकाज हुने छन् भने जग्गासम्बन्धी कामका लागि जनकपुर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । 

ढल्केबरमा मालपोत र नापी कार्यालय एकसाथ सञ्चालनमा आउने निश्चित भएपछि यस भेग सेवाग्राही खुसी देखिएका छन् । जग्गासम्बन्धी कामका लागि तीन सयदेखि पाँच सय रुपियाँ खर्चेर २४ किलो मिटर टाढा जनकपुर बाध्यता थियो । त्यसँगै जनकपुरको कार्यालयमा हुने भिडभाडका कारण सानो कामका लागि पनि दिनभर लाग्दथ्यो । अब जग्गासम्बन्धी काम गराउन सहज हुने ढल्केबरका स्थानीयको भनाइ छ ।