• ३ असार २०८१, सोमबार

क्याबात कामिरिता

blog

विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला परेको ७१ वर्ष पुगेको छ । कतिपय आरोहण प्रयास असफल भए पनि निरन्तरको प्रयासस्वरूप २९ मे, १९५३ मा पहिलो पटक आरोहण सफल भयो । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरी इतिहासमा सुनौलो अक्षर लेख्नुभयो । संयुक्त अधिराज्य बेलायतका आरोहीको १० औँ पटकको अभियानपछि सफलता मिल्यो । यसअघि पनि तेन्जिङ र हिलारीले स्विस आरोहण दलमा सामेल भएर ८४५० मिटरसम्म पुगेर फर्किएका कारण उहाँहरूलाई बेलायती आरोहण दलले अनुभवीका रूपमा सामेल गराएको थियो । पहिलो पाइला बेलायती आरोहीकै पार्ने उनीहरूको सपना अनेक प्रयासबाट पनि सम्भव नभएपछि अनुभवीका रूपमा उहाँहरूलाई चढ्न स्वीकृति दिइएको थियो । सगरमाथा चुचुरोमा पुगेर पृथ्वीको सबैभन्दा उच्च स्थानमा पुगेको विश्वकीर्तिमानले संसार हल्लायो । यसपछिका दिनमा भने सगरमाथा आरोहणमा अनेक कीर्तिमान कायम भएका छन् । पछिल्लो पटक आफ्नै कीर्तिमान भङ्ग गर्दै कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान कायम गर्नुभएको छ । उहाँले ३० औँ पटक चुचुरोमा पाइला पु¥याएर विश्वका आरोहीलाई चकित पार्दै चुनौती दिनुभएको छ ।  

कीर्तिमानी आरोही कामिरिताले आफ्नै कीर्तिमान भङ्ग गर्दै एकै सिजनमा १० दिनभित्र दुई पटक आरोहण गर्नुभएको हो । फोर्टिन पिक एक्सपिडिसन कम्पनीबाट आरोही गाइडका रूपमा उहाँले विदेशी आरोहीसँगै चुचुरोमा पुगेर अन्य आरोहीलाई आरोहणको तृष्णा बढाउनुभएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयका अनुसार गत वैशाख ३० गते २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएकोमा पुनः १० दिनमै ३० औँ पटकको आरोहणलाई उहाँले सफल बनाउनुभएको छ । कामिरिताले आठ पटक चोयु, तीन पटक मनासलु, एक पटक ल्होत्से र एक पटक माउन्ट केटु (दोस्रो उच्च हिमाल) सहित ४० पटकभन्दा बढी विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । उहाँपछि सगरमाथा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुकै ४७ वर्षीय पासाङ दावा शेर्पा हुनुहुन्छ । गत वर्ष एकै सिजनमा दुई पटक आरोहण गरेर २७ औँ पटकको आफ्नो कीर्तिमानलाई भेट्टाएपछि कामिरिताले साहस चम्काउनुभयो । पासाङ दावाले कीर्तिमान बनाएको एक साता नबित्दै पुनः आरोहण गरेर २८ औँ पटकको पहिलो आरोहीको कीर्तिमान बनाउन सफल हुनुभएको थियो । साहसीका निम्ति कीर्तिमान बनाउनु र भङ्ग गर्नु आत्मसन्तुष्टि मात्र नभएर देशकै लागि गौरवबोधको विषय बन्न पुगेको छ । 

त्यसो त सगरमाथा आरोहणमा अनेक कीर्तिमान बनेका छन् । कीर्तिमानका चाङ हेर्दा बिनाकठिनाइ नै चुचुरोमा पुग्न सकिन्छ जस्तै देखिन्छ तर साहसीका लागि मात्रै आरोहण सम्भव हुने हो । अघिल्लो वर्ष दुवै खुट्टा गुमाएका हरि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सफल आरोहण गर्नुभएको थियो । बुढामगरभन्दा पहिले यस्तो कीर्तिमान चिनियाँ नागरिक सिया पोयुले विसं २०७५ मै बनाउनुभएको थियो । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला नेपालकै लाक्पा शेर्पा हुनुहुन्छ । उहाँले १० औँ पटकको आरोहण कीर्तिमान कायम गर्नुभएको छ । पहिलो नेपाली महिला आरोही पासाङल्हामु शेर्पा हुनुभएको छ । विसं २०५० मा आरोहण गरी फर्किने क्रममा उहाँको निधन भएको दुःखद इतिहास छ । पहिलो महिला आरोही भने जापानकी जुन्को ताबेई हुनुहुन्छ । उहाँले सन् १९७५ मा सफल आरोहण गर्नुभएको थियो । यसै गरी सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन अमेरिकाका एरिक ह्वेन मायर हुनुहुन्छ ।

 नेपालकै मिङमा दोर्जी शेर्पाको नाममा सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान कायम छ । उहाँ ६ घण्टा १ मिनेटमै चुचुरोमा पुग्न सफल हुनुभएको थियो । स्पेनका कार्लोस सोरियाले ८१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । बिनाअक्सिजन १० पटक आरोहण गरेर आङरिता शेर्पाले विश्वलाई चकित पार्दै ‘हिउँचितुवा’ को उपाधि नै पाउनुभएको छ । विश्वको सर्वोच्च शिखरमा पाइला टेक्नु आरोहीहरूको गौरवबोधको विषय हुँदाहुँदै पनि सबैलाई सफलता मिल्छ भन्ने हुँदैन । आरोहण त्यागेर सकुशल फर्किन सक्नु ठुलो कुरा हो तर कतिले ज्यान गुमाएका दुःखद घटनासमेत छन् । यसै सिजनमा पनि चार जनाले ज्यान गुमाइसकेका छन् । ज्यान जोखिममा राखेर आरोहणको ३० औँ पटकको कीर्तिमान कायम गर्ने कामिरिता देशले गौरव गर्ने साहसी आरोही हुनुहुन्छ । क्याबात कामिरिता !