• १० मंसिर २०८१, सोमबार

मित्रताको सय वर्ष

blog

भूगोलले ठुला र आर्थिक सामथ्र्यले जति नै सम्पन्न मुलुक भए पनि सार्वभौमिकताका हिसाबले सबै राष्ट्रको समान अस्तित्व हुन्छ । मुलुकको भौतिक विकास र आर्थिक समृद्धिमा भने साधनस्रोतको पहुँच, प्रविधि, सुशासन, बाह्य सहयोगलगायतको भूमिका रहन्छ । बाह्य सहयोगका सम्बन्धमा नेपाललाई ऐतिहासिक कालखण्डदेखि नै साथ दिँदै आएका औँलामा गन्न सकिनेमध्येका मुलुकमा संयुक्त अधिराज्य बेलायत महत्वपूर्ण मित्रराष्ट्रका रूपमा स्थापित छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएयता सम्बन्धमा निरन्तर न्यानोपन थपिँदो छ । त्यसो त नेपालको दौत्य सम्बन्ध स्थापित भएको पहिलो मुलुक नै बेलायत हो । विसं १८७२ मा सम्बन्ध स्थापित भएयता इतिहासमा आएका अनेक उतारचढावबिच पनि सम्बन्धमा कुनै किसिमको तिक्तपन नआउनुले सच्चा मित्रताको पुष्टि गर्छ । मैत्री सन्धि भएपछि भने दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको ढोका खोलेको कूटनीतिज्ञहरूको अभिमत छ । 

यो ऐतिहासिक सन्दर्भमा बेलायतका प्रधानमन्त्री ऋषि सुनकद्वारा दुई देशबिचको मैत्री सम्बन्धलाई थप उचाइमा पु¥याउने कार्य भएको छ । दुई देशबिच विसं १९८० (सन् १९२३) मा मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सुनकले प्रधानमन्त्री कार्यालयमै विशेष समारोह आयोजना गराउनुभयो । यसले दुई देशबिचको सम्बन्धलाई उच्च सम्मानका साथ हेरेको अनुभूत गरिएको छ । दुई देशबिच व्यापार, लगानी, आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोग र सहकार्य अभिवृद्धिसहितको प्रतिबद्धता व्यक्त गर्नुका साथै प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्नुभयो । यस कार्यले उहाँ नेपाली समुदायको मन जित्न सफल हुनुभएको छ । सुनकले द्विपक्षीय सम्बन्धलाई ब्रिटिस–गोर्खा सैनिकको योगदानले कसिलो बनाएको समेत धारणा राख्नुभयो । पहिलो पटक आफ्नै कार्यालयमा नेपाली समुदायको उपस्थितिलाई सम्बोधन गरेर सुनकले बेलायती राजपरिवारबाट विगतमा भएको नेपाल भ्रमणको समेत चर्चा गर्नुभएको थियो । बेलायतस्थित नेपाली समुदायले विभिन्न क्षेत्रमा गरेको ख्यातिप्राप्त कार्य र हासिल गरेको उपलब्धिबाट प्रेरित भएको उहाँको अभिव्यक्तिले नेपाली समुदायलाई गौरवबोध गराएको अनुभूत हुन्छ ।

त्यस महत्वपूर्ण कार्यक्रम आयोजना गर्न बेलायतस्थित नेपाली दूतावास र नेपाली समुदायका अगुवाहरूले खेलेको भूमिका प्रशंसनीय छ । कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायती मन्त्री, सांसद तथा उच्चपदस्थ अधिकारीहरू एवं नेपाललाई माया गर्ने बेलायतीको उल्लेख्य उपस्थिति रह्यो । बेलायतमा करिब दुई लाख नेपाली बसोबास गर्दै आएका छन् । धेरै जसो गोर्खा भूतपूर्व सैनिकका परिवार भएको स्मरणीय छ । प्रथम र द्वितीय विश्वयुद्धमा बेलायती सेनामा भर्ती भई महत्वपूर्ण लडाइँ लडेर ‘वीर गोर्खाली’ को पहिचान स्थापित गर्न सफल नेपालीले बेलायती सेना सरहको सेवासुविधा नपाएको भन्ने गुनासोप्रति पनि प्रधानमन्त्री सुनकको कार्यकालमा सम्बोधन हुने अपेक्षा गरिएको छ । 

नेपालले सन् १९३४ मा मात्र बेलायतमा आफ्नो कूटनीतिक नियोगको कार्यालय स्थापना गरेको थियो । नेपालको विकासका लागि सन् १९६१ देखि अविराम आर्थिक सहयोग गर्दै आएको बेलायत नेपालको विकासको प्रमुख साझेदार मुलुकका रूपमा स्थापित छ । सन् १९९९ मा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) को कार्यालय काठमाडौँमा स्थापना भएयता नेपालको स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा निरन्तर सहयोग उपलब्ध हुँदै आएको छ । आगामी छ वर्षभित्र ६६ अर्ब ६० करोड रुपियाँ अनुदान उपलब्ध गराउने घोषणा केही समयअघि नै भएको विदित हुन्छ । यो सहयोग नेपाललाई जलवायु सङ्कटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न र सुशासन तथा समावेशीकरणमा सहयोग पु¥याउन महत्वपूर्ण हुने सहयोग सम्झौतामा उल्लेख छ । 

सन् २०२६ देखि सुरु हुने नेपालको विकासशील राष्ट्रतर्फको यात्रामा निरन्तर अगाडि बढ्न बेलायती सहयोग महìवपूर्ण हुने विश्वास गर्न सकिन्छ । प्रधानमन्त्री सुनकले नेपालको विकासमा हरतरहको सहयोग गर्न बेलायत तयार रहेको बताउनुले आगामी दिनमा बेलायती सहयोग वृद्धि हुँदै जाने अपेक्षा गर्न सकिन्छ । दौत्य सम्बन्ध स्थापित हुने विश्वमै पहिलो तथा मैत्री सम्बन्ध स्थापना भएको शताब्दी पुगेको मुलुकसँगको सम्बन्ध नागरिक तहसम्म झाँगिएको अनुभूत गराएर प्रधानमन्त्री सुनकले बेलायतस्थित नेपाली समुदायलाई सच्चा मित्रताको सन्देश दिन सफल हुनुभएको कूटनीतिक क्षेत्रबाट विश्लेषण गरिएको छ ।