• २ असार २०८१, आइतबार

रथको टुप्पोबाट खसालियो नरिवल

blog

काठमाडौँ, जेठ १० गते । मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ । बुधबार लगनखेलको थतिटोलमा रातो मत्स्येन्द्रनाथको नरिवल खसालेर जात्रा मनाइएको छ । रथ लगनखेलको थतिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । नरिवल खसाल्ने दिन अपराह्न, ज्येष्ठ व्यक्ति रातो मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा यःमरी खसालेपछि अन्तिममा नरिवल खसाल्ने गरिन्छ ।

खसालिएको नरिवल फेला पार्न यो दिन थतिटोलमा ठुलो भिडभाड र तँछाडमछाड भएको थियो । जसले नरिवल पाउँछ, उसले सन्तान प्राप्त गर्छ भन्ने जनविश्वास रहिआएको छ । 

मत्स्येन्द्रनाथको रथ जात्रा चलिरहेका बेला निकै ढल्किएकाले केही दिन रथ तान्ने क्रमलाई रोकेर जेठ ४ बाट मर्मत कार्य सुरु गरिएको थियो । रथ तान्ने क्रममा चक्काको माथि हुने मलाखे भाँचिएका कारण तान्न समस्या भएको थियो । त्यसपछि ललितपुर गुठी संस्थानले सूचना जारी गरी मर्मत कार्य गर्नुपर्ने भन्दै केही दिन रथ जात्रा स्थगित हुने जनाएको थियो । रथको पूर्ण रूपमा मर्मत भएपछि आइतबार पुनः रथ तान्न सुरु गरी लगनखेल पु¥याइएको थियो । 

मङ्गलबार लगनखेलमा तीन पटक रथ घुमाएर बुधबार आज नरिवल खसाल्ने जात्रा गरिएको हो । मत्स्येन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित भएको संस्कृतिविद् हरिराम जोशीको भनाइ छ । उहाँका अनुसार करिब १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । नेवारी परम्परा अनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोल परिक्रमा गराउने परम्परा छ । विसं ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ । हिन्दु धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयका रूपमा पुज्छन् । बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् । मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थीसम्म सञ्चालन हुन्छ । रातो मत्स्येन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।  

जावलाखेलमा भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्‍याउने परम्परा छ । रातो मत्स्येन्द्रनाथको रथलाई छ÷छ महिना पाटन र बुङमतीमा राख्ने गरिन्छ । जात्रा सकिएर बुङमती पुर्‍याइएको रथ छ महिनासम्म त्यहीँ राखेर साइत अनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ ।