• २ असार २०८१, आइतबार

गणतन्त्र दिवस : राससद्वारा तस्बिर प्रदर्शनी आयोजना गरिँदै

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ ९ गते । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस-२०८१ का अवसरमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ । यही जेठ १० गतेदेखि सुरु हुने तस्बिर प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गर्नुहुने जनाइएको छ ।

राससले गत वर्ष पनि गणतन्त्र दिवसकै सन्दर्भमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । नेपालका तीन वटै तहका सरकारले आफ्नै सीप, पुँजी र जनशक्ति लगानीमा तथा छिमेकी र अन्य मित्रराष्ट्रसमेतका सहायतामा राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरुको प्रदर्शनीमा राखिने भएका छन् । वि.सं.२०७२ को गोरखा भूकम्पपछि भत्किएका ऐतिहासिक धरोहरको पुनःनिर्माणपछिको संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिने भएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभएको छ । 

नेपालमा गणतन्त्र आएसँगै विकास निर्माणमा उत्साहजनक गति लिएको छ । समृद्ध नेपाल निर्माण गर्नको लागि नवीनतम प्रविधिको प्रयोगमा बढोत्तरी भएको छ । समय अनुसार नागरिकका आशा, आकांक्षा र अपेक्षालाई सम्बोधन गर्न सरकारले कसरी काम गरिरहेको छ भनेर जानकारी दिन र आशा र भरोसा जगाउन फोटो प्रदर्शनी फलदायी हुने कार्यकारी अध्यक्ष झाले बताउनुभयो । तस्बिर प्रदर्शनीमा सातवटै प्रदेशमा भएका पूर्वाधारसम्बन्धी ९० वटा तस्बिर राखिने छन् । रासस