• १२ असार २०८१, बुधबार

दुई विद्यार्थीका लागि तीन शिक्षक

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ ९ गते । उत्तरी हुम्लाको एक विद्यालयमा दुई जना विद्यार्थीको पढाइका लागि तीन जना शिक्षक कार्यरत रहेका छन् । नाम्खा गाउँपालिका–५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयको अवस्था यस्तो रहेको छ । 

विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा दुई जना विद्यार्थी रहेको र आफूसहित तीन जना शिक्षक रहेको जानकारी दिनुभयो । 

तीन जना शिक्षकमा दुई जना प्रावि तहका दरबन्दीका शिक्षक छन् भने एक जना बालविकासको सहजकर्ताका रूपमा रहनुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी भने हाल छैनन् । यो विद्यालयबाट बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले अरू विद्यालयमा सार्ने भएकाले सो विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । गत वर्षसम्म सात जना विद्यार्थी थिए तर यो पटक भने सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ । 

यसरी विद्यालय खाली हुने गरी विद्यार्थी अरू विद्यालयमा नपठाउन अभिभावकलाई धेरै पटक आग्रह गर्दा पनि नमानेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले विद्यालय छोड्ने समस्या गाउँपालिकाभरि भएको र बढी अरनिको प्राविमा देखिएको बताउनुभयो । उक्त विद्यालयलाई समायोजन गर्न पनि कठिन भएका कारण जति विद्यार्थी भए पनि तत्काल समायोजन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।

अभिभावकमा आफ्ना बालबच्चालाई विद्यालयमा भन्दा पनि गुम्बामा पढाउन उपयुक्त ठान्ने भएको कारण पनि समस्या आएको उहाँले बताउनुभयो । उक्त विद्यालयमा भौतिक संरचना भने राम्रो रहेको छ । अझ गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुईकोठे भवन निर्माण गरिएको थियो । यसअघि पनि विद्यालयसंग भएका तीन वटा भवनको अवस्था पनि राम्रै रहेको छ । नाम्खा गाउँपालिकामा विद्यार्थी नभएरै यसअघि लिमीका दुई वटा विद्यालय बन्द भइसकेका छन् ।