• १२ असार २०८१, बुधबार

बनेनन् घर, खेतमा भयो बास

blog

अर्काको जमिन भाडामा लिएर अस्थायी आवास निर्माण गरी बसेका परिवार । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, जेठ ९ गते । भूकम्पले घर भत्किएपछि यहाँका बासिन्दा खेतीयोग्य जमिनमा अस्थायी आवास बनाएर बसेका छन् । नलगाड नगरपालिका–१, कल्पतका स्थानीय बासिन्दा पुनर्बासको व्यवस्था हुन नसकेपछि खेतीयोग्य जमिनमा अस्थायी टहरा बनाएर बस्न बाध्य भएका छन् । 

भूकम्प गएको करिब सात महिना बित्नै लाग्दा पनि सरकारले अस्थायी आवासका लागि दोस्रो किस्ता रकम नदिएपछि स्थानीयलाई आवास निर्माणमा लागेको ऋणसँगै बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । भूकम्पले पहाड फाँटेको छ । अब बर्खामा पानी परेपछि अर्को प्राकृतिक प्रकोपले कति हानि नोक्सानी पु¥याउने हो भन्ने चिन्ताले बर्खाअघि नै यहाँका बासिन्दालाई सताउन थालेको छ । 

गरिब, विपन्न, बालीघरे प्रथाबाट जीविकोपार्जन गर्ने यहाँका बासिन्दालाई भौगोलिक अवस्थाले समेत दुःख दिएको छ । भिरालो जमिन फल्ने मकै, गहुँबाहेक अरू सबै कुरा बाहिरबाट किनेर खानुपर्दा र आम्दानीको स्रोत नभएपछि यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर बन्दै गएको छ । मौरीको मह र गाउँघरतिरको सानोतिनो रोजगारीबाट गुजारा गर्दै आएका सो गाउँका करिब ३५० घरपरिवार अहिले दोहोरो मारमा परिहेका छन् । पहाडको फेदमा बसेको सुन्दर बस्ती सुरक्षित बास बस्न बनाएका घरहरू भूकम्पले भत्किएपछि २७ जनाको परिवार मासिक रूपमा जग्गाधनीलाई भाडा दिने गरी अस्थायी आवास निर्माण गरिबसेका छन् । भूकम्पले घर भत्किएपछि मौरी तथा मौरीका घार नष्ट भएपछि मौरीपालनबाट आउने आम्दानीमा पनि असर परिरहेको छ । नलगाड नगरपालिका–१, कल्पतका भविलाल पुनले घरभन्दा माथिल्लो भागको जमिन फाटेपछि मुनिको बस्तीलाई क्षति गर्ने भएकाले अर्काको जमिन भाडामा लिएर बसेका बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदभरिको चिसो अस्थायी आवासमा बितायौँ । बर्खायामको समय आयो, सर्प, किराको डर त छँदै छ, माथिबाट पहिरो आउँछ कि भन्ने अर्को डर छ ।” 

नलगाड नगरपालिका–१ की पार्वतीकुमारी परियारले भन्नुभयो, “भूकम्पपछि छोडेका घरभित्र पस्न सकेका छैनौँ । त्रिपालभित्रको बास कहिलेसम्म बस्नुपर्ने हो, ठेगाना छैन ।” घरबाहेक खेती लगाउने जमिन छैन, अस्थायी आवास बनाएका जमिन आफ्नो नहुँदा जग्गाधनीलाई मकै र तोरी उत्पादनको उब्जनीको मूल्य दिएर अस्थायी आवास निर्माण गरिबसेको उहाँले दुःखेसो पोख्नुभयो । घरमा १७ वटा मौरीका घार थिए, भूकम्पले घर भत्किएपछि मह निकाल्ने समयमा आएको विनाशकारी भूकम्पले घरसँगै मौरीको पनि स्वाहा भयो । नलगाड नगरपालिका–१, कल्पतकी रूपा परियारका अनुसार सरकारले दिएको पहिलो किस्ताले आवास पूरा बनाउन नपाउँदा दोस्रो किस्ताको आशामा बसेको पनि धेरै समय बितिसकेको छ तर कहिले पाइने हो, सुरसार नै छैन ।