• १२ असार २०८१, बुधबार

उच्च पाटनतर्फ चौँरी गाईका गोठ सारियो

blog

उच्च पाटनतर्फ पुगेको चौँरी गाईसँग रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला जेठ ८ गते ।
 तल्लो क्षेत्रमा पालन हुँदै आएका चौँरी गाईलाई उच्च पाटनतर्फ लग्न सुरु गरिएको छ । उच्च पाटनमा घाँस उम्रिनु र गर्मी बढेसँगै पालनका लागि चौँरी गाईलाई उच्च पाटनतर्फ लग्न सुरु गरिएको हो ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका देटाक तामाङले वैशाख अन्तिमबाट लिमीका गाउँमा पालन हुँदै आएका चौँरी गाई उच्च पाटनमा लग्न सुरु गरिएको बताउनुभयो ।

उहाँले उच्च पाटनमा हिउँ पग्लेर घाँस देखिन थालेपछि पालनकै लागि चौँरी गाई त्यसतर्फ लग्न थालिएको बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा एक महिना अगाडि चौँरीलाई उच्च पाटन लग्ने कार्य भएको हो  । गत वर्ष हिउँदमा हिमपात धेरै भएका कारण जेठ दोस्रो हप्तामा मात्र चौँरी गाईलाई लिमीको गाउँबाट उच्च पाटन लगिएको थियो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले चौँरीलाई उच्च क्षेत्रमा लग्न सुरु गरिएको र यतिबेला उच्च पाटनमा लगिएका चौँरी गाई आगामी कात्तिक महिनामा मात्र गाउँमा फिर्ता हुने बताउनुभयो । यो बिचमा चौँरी खर्कमा घ्यु, छुर्पी, चीज उत्पादन हुनेछ । हाल लिमीका तीन गाउँ तिल, हल्जी र जाङ गरी तीन सयभन्दा बढी चौँरी रहेका छन् ।