• ११ मंसिर २०८१, मङ्गलबार

गोरखापत्र समाचार प्रभाव : छहारी छोडेर कक्षाकोठा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ७ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयको छाना निर्माण गरिएको छ । गत चैत १७ गते आएको हावाहुरीले उडाएको छाना डेढ महिनापछि निर्माण भएको हो । छाना मर्मतपछि विद्यार्थीलाई कक्षाकोठामै राखेर पढाउन थालिएको छ । 

विद्यालयको जस्तापाताको छाना हावाहुरीले उडाएपछि यस विद्यालयमा अध्ययनरत बालबालिका रुखको छहारीमा बसेर पढ्दै आएका थिए । यस विषयमा गोरखापत्र दैनिकमा वैशाख ३ गते ‘जता रुखको छाया, उतै कक्षाकोठा’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि आठबिसकोट नगरपालिकाको सहयोगमा भवन मर्मत गरिएको हो । विद्यालयका प्रधानाध्यापक कल्पना बिएम विष्टले आइतबारदेखि विद्यार्थीलाई कक्षाकोठामै पठनपाठन सुरु गरिएको बताउनुभयो । बाल शिक्षादेखि कक्षा २ सम्म पढाइ हुने यस विद्यालयमा ४० जना छात्रा र ३५ जना छात्र रहेर ७५ जना विद्यार्थी रहेका छन् । 

हावाहुरीले विद्यालयको छाना उडाएपछि भवन लथालिङ्ग बनेको थियो । विद्यार्थीलाई घाम लाग्दा रुखमुनिको छहारीमा राखेर पढाउनुपर्ने बाध्यता रहेको थियो । उक्त बाध्यता अन्त्य भएको प्रधानाध्यापक विष्टले जनाउनुभयो । उहाँले भन्नुभयो, “रुखको छाया जता जता सर्छ, उतै विद्यार्थी सारेर पढाउनुपर्ने अवस्था थियो, आजदेखि कक्षाकोठामै पढाइ भइरहेको छ ।” विद्यालयको तीनकोठे उक्त भवन मर्मतपछि कार्यालयसमेत सोही भवनमा सारिएको छ । यसअघि स्थानीयको टहरामा कार्यालयका सामग्री थन्काइएको थियो । छाना मर्मतपछि सबै सामान सारेर विद्यालय भवनबाटै प्रशासनिक कार्य सुरु गरिएको छ । 

कक्षाकोठामै बसेर पढ्न पाउँदा बालबालिका खुसी भएका छन् । कक्षा २ मा अध्ययनरत छात्रा विमला सार्कीले कक्षामै बसेर पढ्न पाउँदा आनन्द लागेको बताउनुभयो । कक्षाकोठा नहुँदा रुखको छहारी खोज्दै सर्नुपर्ने, पानी परेपछि घर जान हतार गर्नुपर्ने अवस्थाबाट मुक्ति पाएको उहाँको भनाइ थियो । कक्षा १ मा अध्ययनरत छात्र भैरव विष्टले कक्षाकोठामा बसेर पढ्न पाउँदा घाम र पानीको डर नहुने बताउनुभयो । पहिला चौरमा, रुखको छहारीमा बस्नुपर्दा कापीकलम हराउने डरसमेत रहेको अनुभव सुनाउँदै उहाँले अब भने कक्षाकोठामा निर्धक्क भएर पढ्ने वातावरण बनेको उहाँको भनाइ छ । आठबिसकोट नगरपालिकाले उक्त विद्यालयको भवन मर्मतका लागि सहयोग गरेको हो । मर्मतका लागि ५६ वटा जस्तापाता, पाँच बोरा सिमेन्ट, एक ट्याक्टर बालुवा, २० बोरा गिट्टी र मिस्त्री खर्च लागेको छ । ५१ वटा जस्तापाता नगरपालिकाले खरिद गरेर पठाइदिएको र अन्य खर्च पनि नगरपालिकाले बेहोर्ने बताइएको छ ।