• १२ साउन २०८१, शनिबार

बस पार्किङ सडक छेउछाउ

blog

सकडछेउमै पार्किङ गरिएका साना तथा ठुला सवारीसाधन । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, जेठ ७ गते । बाजुराको सदरमुकाम मार्तडीमा सडकको छेउछाउमै बस पार्किङ गरिने गरेको छ । बसपार्क नबनेपछि छोटो तथा लामो दुरीका सवारीसाधन सडकको छेउछाउमै पार्किङ गर्नुपर्ने बाध्यता छ । 

सदरमुकाम मार्तडीमा बस पुग्न थालेको करिब ११ वर्ष भए पनि अझै बसपार्कको व्यवस्था नहुँदा गाडी सडकमै पार्किङ गर्नु परेको गाडी साहु रामचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न सहरदेखि लामो दुरीका १० वटा सवारीसाधान दैनिक सदरमुकाम मार्तडी पुग्ने गरेका छन् । मार्तडीमा बस आउँछन् तर बसपार्क छैन ।’’

ती सवारीसाधनलाई अन्य कतै राख्ने ठाउँ नभएपछि बाध्यताले सडकमै पार्किङ गर्नु परेको गिरीले बताउनुभयो । काठमाडौँबाट एक, नेपालगन्जबाट एक, महेन्द्रनगरबाट चार, धनगढीबाट तीन, अत्तरियाबाट एक गरी दैनिक १० वटा बस मार्तडी पुग्ने गरेका छन् ।

यहाँ पुग्ने साना तथा ठुला सवारीसाधन नेपाल टेलिकम, तुफानडाँडा र गैरी बजार क्षेत्रको सडक किनारामा पार्किङ हुने गरेका छन् । २०७० साल फागुन १४ देखि मार्तडीमा बस सेवा सुचारु भए पनि बसपार्क नहुँदा बस सडक छेउमै पार्किङ हुने गरेका हुन् । बसपार्क नहुँदा सवारीसाधन सडकको छेउमै पार्किङ गर्दै आएको मार्तडीको गैरीबजार टिकट काउन्टरका प्रमुख जीवन थापाले बताउनुभयो । यसरी गाडी सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ । 

मालिका, रिठा, बेतालमाण्डौ, बाम्का, फालासैन, ताँप्रिसेरा, बल्देलगायतका स्थानमा पनि बस राख्ने ठाउँ नभएको स्थानीय ताकल बोहराले बताउनुभयो । साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटिगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि बसपार्क बन्न सकेको छैन । सवारीसाधन सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ सहज र व्यवस्थित हुने गरी बसपार्क निर्माण गर्ने योजना रहेको बडीमालिका नगरपालिकाका प्रमखु अम्मर खड्काले बताउनुभयो ।