• १२ साउन २०८१, शनिबार

ठेकेदारकाे लापरबाहीले पुल निर्माण अलपत्र

blog

यदुप्रसाद भट्ट

मनाङ, जेठ ६ गते । विगत नौ वर्षदेखि मनाङका नासो गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन वटा पक्की मोटरेबलपुल ठेकेदारका लापरबाहीका कारण अलपत्र छन् । २०७३ साल असारमा पुल निर्माण सम्पन्न गर्न तत्कालीन जिल्ला विकास समितिले निर्माण कम्पनीलाई ठेक्कामा दिएको थियो । २०७४ मा सम्पन्न गर्ने गरी द क्याराभान कम्पनीलाई ठेक्का दिइएकोमा ९ वर्ष हुनै लाग्यो न त ती खोलामा पुल बने न त ठेकेदारलाई कारबाही नै भयो । बसे त केवल मनाङ पीडामा मात्रै ।

कहिले के त कहिले के कारण देखाउँदै ठेकेदारले काम गर्न आलटाल गरिरहँदा मनाङी पुल बन्नेमा विश्वस्त छैनन् । एकातिर नासो–६ र ७ नं वडा जोड्ने मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमै सकस हुने गरेको छ भने अर्कोतिर मोटर तार्न र स्थानीयलाई आवतजावतका लागि साँघु बनाउनुपर्ने बाध्यता जीवितै छ ।

जेठको पहिलो साता बित्यो, अब दुई सातापछि मनसुन सुरु हुन्छ । सदरमुकाम चामेबाट गाउँ जाने बाटोमा पर्ने दुधखोलामा हरेक वर्ष मनसुन सक्रिय भएपछि तिल्चेवासी काठको पुल भत्काउँछन् । साँघु बनाएर आवतजावत गर्ने गर्दछन् । ‘हिउँदमा गाउँवासी मिलेर झारा उठाएर बनाएको पुल वर्षा लागेपछि झिकेर राख्ने गरेको स्थानीय गुणराज गुरुङले बताउनुभयो ।

अघिल्लो वर्ष स्थानीय सरकार र गाउँलेले ४ लाखभन्दा बढी खर्च गरी पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । ठेकेदारले काम नगर्दा आफूहरू हैरान भएको उहाँको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो, ‘पुल बनाउन सरकारले पहल नगरेको पनि होइन, ९ वर्षअघि पक्की पुल बनाउन ठेक्का लागिसकेको थियो, तर ठेकेदार कम्पनी बेपत्ता भएपछि गाउँलेका दुःख ज्यूकात्यूँ छन् ।’

२०७३ असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त ठेक्का सम्झौता गरेका थिए । २०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा ३० प्रतिशत हाराहारीमात्र काम सकिएको छ । तर पटक-पटक बैठक बसी पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाइए पनि कुनै काम हुन सकेको छैन ।

सङ्घीयता लागू भएपछि अहिले पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको छ । सम्झौता अनुसारको मितिमा पुल नबनेपछि २०७७ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थप भयो । जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटक–पटक बैठक राखेर पुल बनाउन निर्देशन दियो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रोपटक म्याद थप भएको थियो । त्यसपछि म्याद थप भएको छैन । कारबाही पनि भएको छैन । ठेकेदारले दुईतिर पिल्लर मात्र ठड्याएर करिब दुई करोड निकासा लगिसकेका छन् । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले काम पूरा गर्न पटक–पटक आग्रह गरिएको बताउनुभयो । उहाँले काम गर्छु भनेर नगरेपछि कारबाहीका लागि सम्बन्धित कार्यालयलाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।

अन्तिम पटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले यही वैशाख एक महिनाभित्रमा पुल बनाइसक्ने प्रतिबद्धता गर्नुभएको थियो । तर जेठको पहिलो हप्ता बितिसक्दा पनि काम सुरु गर्ने त कहाँ हो कहाँ उहाँ विभिन्न कारण देखाउँदै पन्छिनु भएको छ । गण्डकी प्रदेश सरकारले कुनै ठुला महत्त्वपूर्ण निर्णय नगर्नु भनेर अदालतले भनेको अवस्थामा रकम निकासा हुन नपाउँदा काम गर्न नै नपाएको ठेकेदार थकालीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले पटक–पटक बैठक राखेर पुल बनाउन निर्देशन दिए पनि थकालीले प्रशासनको कुरा नसुनेको जनताका दुःख पनि नदेखेको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो । त्यसैगरी क्याराभानले नै ठेक्का लिएको मनाङ ङिस्याङ-५ मुङ्जेस्थित मर्स्याङ्दी नदीमाथिको पुल पनि अलपत्र पारेपछि अग्रिम भुक्तानीबापत ४२ लाख रुपियाँ कार्यालयले जफत गरेको प्रमुख विष्टले जानकारी दिनुभयो । उक्त ठेक्काविरुद्ध अख्तियारमा उजुरी परेकाले छानबिन भइरहेको छ ।

"एउटा मात्रै होइन, ठेक्का लिएको जति सबै काम अलपत्र छ, दुधखोलामा पनि फाउन्डेसनको काम सकेको छ, कस्सिएर काम गरे एक महिनामै सकिन्छ, तर काम गर्नै आउँदैनन्, चारैतिर यस्तै छ," प्रमुख विष्टले भन्नुभयो ।