• १२ साउन २०८१, शनिबार

कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप

blog

न्युयोर्क, वैशाख १० गते । कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् ।

तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शनिबार दिएको जानकारी अनुसार नागरिकलाई लगाइएको खोप मध्ये सबैभन्दा धेरै चिनियाँ खोप रहेको छ ।

दक्षिण पूर्वी एसियाली मुलुक कम्बोडियामा सन् २०२१ को फेब्रुअरी देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो ।

झण्डै १४ महिनाको अवधिमा कम्बोडियामा आयात गरिएको खोप मध्ये सबैभन्दा धेरै चीनबाट आयात गरिएको छ ।

“मुलुकको एक करोड ४८ लाख ८० हजार मानिसलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाइएको छ,” मन्त्रालयका प्रवक्ताले भने । कम्बोडियामा अहिले झण्डै एक करोड ६० लाख जनसङ्ख्या रहेको छ ।

खोप लगाएका मध्ये ८८.३ प्रतिशतले भने दुबै खोप लगाएका छन्, त्यो जनसङ्ख्या एक करोड ४१ लाखभन्दा बढी हुन्छ ।

त्यसैगरी ८२ लाख मानिस अर्थात् ५१ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् भने १३ लाख अर्थात आठ प्रतिशतले चौथो डोज लगाएका छन् । 

यति धेरै मानिसले खोप लगाउँदा समेत कम्बोडियामा अहिले पनि दैनिक सङ्क्रमितहरू भेटिने गरेका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । मृतकको सङ्ख्या भने शून्य रहेको छ ।

कम्बोडियामा अहिलेसम्म कुल एक लाख ३६ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५६ जनाको मृत्यु भएको छ ।