• १२ साउन २०८१, शनिबार

सरकारी कार्यालयबाट दश अर्ब बढी राजस्व सङ्कलन

blog

दमौलीस्थित आन्तरिक राजस्व कार्यालय ।

अमरराज नहर्की

तनहुँ, जेठ ५ गते । तनहुँमा चालु आर्थिक वर्षको १० महिनामा १० अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा १० अर्ब ३४ करोड ९५ लाख ७७ हजार सातसय ५१ रुपियाँ राजस्व सङ्कलन गरेका छन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख विनोद भट्टराईले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ १० अर्ब ३ करोड ३१ लाख ९२ हजार २४ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने ३१ करोड ६३ लाख ८५ हजार सातसय २७ सङ्कलन भएको छ । सबैभन्दा धेरै आन्तरिक राजस्व कार्यालय दमौलीले नौ अर्ब ८५ करोड ६१ लाख ९५ हजार नौ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय तनहुँले सात करोड ३५ लाख ६० हजार ५५ रुपियाँ, सडक डिभिजन कार्यालयले तीन करोड ६५ लाख ४७ हजार तीनसय ८८ रुपियाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालयले दुई करोड ४५ लाख नौ हजार तीनसय ७४, कोष तथा लेखा नियन्त्रक कार्यालयले एक करोड ६४ लाख २७ हजार पाँचसय ४५ राजस्व सङ्कलन गरेको छ । तनहुँ जिल्ला अदालतले एक करोड पाँच लाख ४५ हजार छ सय ३६ राजस्व सङ्लन गरेको छ ।

यसैगरी, जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालयले १७ करोड ४२ लाख १९ हजार छ सय २७, मालपोत कार्यालयले छ करोड ८१ लाख २५ हजार दुई पर्यटन कार्यालयले ४१ लाख ९० हजार चारसय २५ र पूर्वाधार विकास कार्यालयले सात करोड ३४ लाख दुई ४८ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।